\
राष्ट्रिय समाचारसमाचार

अस्पताल निर्माणका लागि राससकर्मी कार्कीद्वारा सहयोग

२० फागुन, सोलुखुम्बु । दूधकोशी सामुदायिक अस्पताल निर्माणका लागि राससकर्मी भोजराज कार्कीले रु एक लाख बढी सहयोग गर्नुभएको छ ।

थुलुङ दूधकोशी गाउँपालिका केन्द्र मुक्लिमा निर्माण हुने उक्त सामुदायिक अस्पतालको लागि सञ्चारकर्मी कार्कीले रु एक लाख २२ हजार २२२ आर्थिक सहयोग गर्नुभएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।

विभिन्न क्षेत्रका व्यक्ति तथा सङ्घसंस्थाले सहयोग गरिरहेको बेला सञ्चारकर्मी कार्कीले पनि सहयोग गर्नुभएको हो । अध्यक्ष राईले भन्नुभयो, “जिल्लाको एक सामाजिक अभियन्ता, उहाँले कलमले मात्र होइन आर्थिकरुपले समेत सहयोग गर्नुभएको छ यो हामी सबैको लागि प्रेरणा बन्ने छ ।”

अस्पताल निर्माणका लागि देश विदेशबाट सहयोग आउने क्रम जारी रहेको अध्यक्ष राईले बताउनुभयो । नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुका उपाध्यक्षसमेत रहेका सञ्चारकर्मी कार्की स्थानीय पूर्वाञ्चलकै पहिलो सामुदायिक रेडियो सोलु एफएमका स्टेशन मेनेजर पदमा कार्यरत हुनुहुन्छ ।

डेढ करोड बढी सहयोग सङ्कलन

दूधकोशी सामुदायिक अस्पताल निर्माणका लागि हालसम्म रु एक करोड १५ लाख सहयोग सङ्कलन भएको छ । अस्पताल निर्माणका लागि चैत २ गतेदेखि ९ गतेसम्म श्रीमद्भागवत सप्ताहज्ञान महाज्ञको आयोजना गरी गाउँपालिकाले रु २० करोड रकम सङ्कलन गर्ने लक्ष्य लिएको छ ।

नौ वडा रहेको गाउँपालिकाले प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा महायज्ञ आयोजक उपसमिति गठन गरी आर्थिक सङ्कलनको काम भइरहेको बताइएको छ ।

यस्तै विभिन्न देशबाट रु ५० हजारदेखि रु एक लाखभन्दा बढीको सहयोग आइरहेको बताइएको छ । जिल्लामा क्रियाशील सम्पूर्ण सामाजिक सङ्घसंस्थाका अभियन्ताले समेत सो कार्यको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्लास्थित एक नगरपालिकासहित सात वटा स्थानीय तहले रु पाँच÷पाँच लाख सहयोग गरेका छन् । (रासस)

Leave a Reply