एक वडा एक पहिचान
१९ फागुन, गलकोट । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाले आगामी पाँच वर्षभित्र ‘एक वडा एक पहिचान’ स्थापित गर्ने भएको छ । गाउँपालिकाका सबै वडामा छुट्टाछुट्टै पहिचान स्थापित गरेर नमूना गाउँपालिकाका रुपमा विकास गर्न ‘एक वडा एक पहिचान’ कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले आव २०७५/७६ को नीति तथा कार्यक्रममा एक वडा एक पहिचान स्थापित गर्ने गरी गाउँपालिकाका आठै ओटा वडालाई भौगोलिक, सांस्कृतिक तथा उत्पादनका हिसाबले वर्गीकरण गरिएको गाउँपालिकाका अध्यक्ष अमर थापाले बताउनुभयो । “प्रत्येक वडामा फरकफरक पहिचान स्थापित गर्ने गरी कार्यक्रम ल्याएका हौँ,” थापाले भन्नुभयो, “गाउँपालिकाले गरेको वर्गीकरणका आधारमा वडाले पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेछ ।”
गाउँपालिकाले वडा नं १ लाई हाटबजार विस्तार, वडा नं २ लाई पर्यटन तथा जडीबुटी, वडा नं ३ लाई आलुको पकेट क्षेत्र, वडा नं ४ लाई सांस्कृतिक सङ्ग्रहालय, वडा नं ५ लाई धार्मिक पर्यटन, वडा नं ६ लाई सुन्तलाको पकेट क्षेत्र, वडा नं ७ लाई खेलकूद र वडा नं ८ लाई हाते कागज तथा स्तुपाको पहिचानका रुपमा स्थापित गर्ने भएको छ ।
वडाहरुले आधारभूत आवश्यकतासँगै गाउँपालिकाले स्थापना गर्न खोजेको पहिचानलाई समेत ध्यानमा राखेर विकास गर्नका लागि यस्तो योजना ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम विश्वकर्माले बताउनुभयो । विश्वकर्माले गाउँपालिकाले आगामी वर्षदेखि बजेट विनयोजन गर्दा पहिचानलाई प्रमुख प्राथमिकतामा राख्ने बताउनुभयो ।
सबै वडामा सबैको विकास सम्भव नभएका कारण एक वडालाई एउटा क्षेत्रमा पहिचान स्थापित गर्दा गाउँपालिकालाई समृद्धि गाउँपालिकाका रुपमा विकास गर्न सकिने वडा नं ७ का वडाध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । सडक, खानेपानी, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकतासँगै वर्गीकरण गरेको वडाको पहिचानलाई ध्यानमा राखेर अगाडि बढ्ने गाउँपालिकाको लक्ष्य रहेको छ ।
गाउँपालिकाको जुन वडामा जे सम्भावना छ त्यसैलाई अध्ययन गरी पहिचानका आधारमा स्थापित गर्नेगरी गाउँपालिका लागेको हो । पहिचान स्थापित भएको खण्डमा गाउँपालिमा पर्यटन, कृषि तथा अन्य क्षेत्रको विकासमा टेवा पुग्ने गाउँपालिकाको अपेक्षा छ ।
सामाजिक सञ्जालसम्बन्धी सचेतना
बागलुङ जिल्लाको धवलागिरि बहुमुखी क्याम्पसका विद्यार्थीले सामाजिक सञ्जालको प्रयोगका बारेमा जनचेतना अभियान सञ्चालन गरेका छन् । धौलागिरि बहुमुखी क्याम्पसको बिबिए कार्याक्रमअन्तर्गतका विद्यार्थीले बागलुङ र पर्वत जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत युवा विद्यार्थीलाई सामाजिक सञ्जालको सही सदुपयोग तथा दुरुपयोगवाट कसरी बच्ने भन्ने विषयमा एकहप्ते जनचेतना अभियान सम्पन्न गरको छ ।
बिबिए प्रथम सेमिस्टरमा अध्ययनरत ३२ जना विद्यार्थीले पाँच समूहमा विभाजित भएर दुई जिल्लाका विद्यालयको कक्षा १०, ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई सामाजिक सञ्जालसम्बन्धी सचेतना प्रदान गरिएको धौलागिरि बहुमुखी क्याम्पसले जनाएको छ ।
बढ्दो सामाजिक सञ्जालको प्रयोग तथा त्यसले पैदा गर्ने सकारात्मक तथा नकारात्मक असरका बारेमा विद्यार्थीलाई सचेत गराइएको धौलागिरि क्याम्पस प्रमुख डा रामप्रसाद उपाध्यायले बताउनुभयो ।
बागलुङ जिल्लाको अमर आदर्श मावि, न्यू ओएसिस बोर्डिङ स्कूल, विद्यामन्दिर मावि, फ्युचर ब्राइटर बोर्डिङ स्कूल, गरिमा आवासीय मावि तथा पर्वत जिल्लाको नमूना आवासीय मावि र नारायण माविमा यस्तो अभियान सञ्चालन गरिएको बिबिए कार्यक्रम संयोजक उपप्राध्यापक विप्लव शर्माले बताउनुभयो । “हरेक संस्थाको सामाजिक दायित्व हुन्छ,” शर्माले भन्नुभयो, “हाम्रो क्याम्पसको सामाजिक उत्तरदायित्वअन्तर्गत यस वर्ष युवा विद्यार्थीलाई सामाजिक सञ्जालको सही सदुपयोग गर्न सचेतना प्रदान गर्नु हो ।”
युवा विद्यार्थीलाई सामाजिक सञ्जालको दुरुपयोगका कारण विभिन्न आपराधिक घटना घट्ने तथा मनोरोगी हुने जोखिम रहने भन्दै सचेतना जगाइएको अभियानमा आबद्ध विद्यार्थी प्रतीक्षा गौतमले बताउनुभयो । धौलागिरिको एक मात्र आङ्गीक क्याम्पसले साबिक धौलागिरि अञ्चलमा नै पहिलोपल्ट सञ्चालनमा ल्याएको बिबिए कार्यक्रमलाई प्रभावकारी बनाउन यस्ताखाले अभियान आवश्यक रहेको क्याम्पसले जनाएको छ । (रासस)