\
राष्ट्रिय समाचारसमाचार

बज्राचार्यलाई मूल चक्रेश्वराभिषेक

१९ फागुन, काठमाडौँ । मैत्रीपुर महाविहारका चक्रेश्वर धुपरत्न बज्राचार्यले शनिबारदेखि बज्रयान बौद्धधर्मको सर्वोच्च पद मूल चक्रेश्वराभिषेक प्राप्त गर्नुभएको छ ।

काठमाडौँका विभिन्न १८ बज्रयान बौद्धधर्मसँग सम्बन्धित महाविहार तथा १६ बहीका ज्येष्ठ चक्रेश्वरलाई यो पद दिइने परम्परा रहेको छ । नेपाल परम्परागत बौद्धधर्म सङ्घ, मैत्रीपुर महाविहार, फ्रेण्डस अफ शान्तिपुरको संयुक्त तत्वाबधानमा भएको यो मूल चक्रेश्वराभिषेकको परम्परा लिच्वीकालदेखि शुरु भएको जनविश्वास छ ।

काठमाडौँको ठँहिटीस्थित मैत्रीपुर महाविहारमा भएको विशेष कार्यक्रममा राजगुरुजु मन्जुश्रीरत्न बज्राचार्यले भगवान बुद्धको मुकुट पहिराई धुपरत्न बज्राचार्यलाई मूल चक्रेश्वराभिषेक गर्नुभएको थियो ।

समारोहमा बौद्धविद्वान नरेशमान बज्राचार्यले बज्रयान बौद्धधर्मको अभिषेकगाथा बाचन गर्नुभएको थियो ।

राजगुरुजु मञ्जुश्रीरत्न बज्राचार्यले भगवान बुद्धको मुकुट पहिराएर बज्र, गँ तथा छत्र हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुरका चक्रेश्वरको पनि उपस्थिति थियो ।

राजगुरुजु मञ्जुश्रीरत्न बज्राचार्यले बज्रयान बौद्धधर्मको विकास गर्नका लागि दे थाय्पा सम्मान कोष स्थापना गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । बौद्धविद्धान भीमरत्न बज्राचार्य, मैत्रीपुर महाविहार संरक्षण समितिका अध्यक्ष सूर्यरत्न बज्राचार्यले मल्लकालसम्म बज्रयान बौद्धधर्मलाई राज्यको धर्मको रुपमा ग्रहण गर्दै आएकामा हाल राज्यले बेवास्ता गरेको विचार राख्नुभयो । (रासस)

Leave a Reply