\
राष्ट्रिय समाचारसमाचार

दिपायल दरबारको संरक्षण गरिने

१५ फागुन, डोटी । दिपायल सिलगढी नगरपालिकाले भग्नावशेष अवस्थामा दिपायलमा रहेको डोटेली राजाको दरबार संरक्षण तथा सम्वद्र्धन गर्ने भएको छ ।

उक्त दरबार संरक्षण तथा सम्वद्र्धनका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा रु १५ लाख खर्च गर्न लागेको छ । बाइसे चौबीसे राज्यका पालामा डोटेली राजा बस्नका लागि मासको गारोले निर्माण गरिएको उक्त दरबार संरक्षण सम्वद्र्धनको अभावमा भग्नावशेष अवस्थामा रहेको छ ।

राष्ट्रियस्तरको सम्पदाका रुपमा सूचीकृत उक्त दरबारको स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेशकै ऐतिहासिक सङ्ग्रहालयका रुपमा स्थापित गर्ने उद्देश्यले दरबारको संरक्षण तथा सम्वद्र्धन गर्न लागिएको नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “दरबार भग्नावशेष अवस्थामा छ, हामी यसको संरक्षण र सम्वद्र्धन गरेर नमूना सङ्ग्रहालय बनाउने छौँ ।”

उक्त दरबार झण्डै १५ औँ शताब्दीतिर निर्माण भएको हुनसक्ने अनुमान छ । सो ठाउँमा दुई भग्नावशेष दरबार भवन र भैरव मन्दिर रहेका छन् । दरबार क्षेत्रको जमीन भित्रभित्रैबाट सेती नदीमा नुहाउन जाने गुफासमेत छ । डोटी गौणाको केन्द्र, तत्पश्चात् साविकको संरचनामा क्षेत्रीय सदरमुकाम रहेको दिपायलको छेवैमा अग्लो डाँडामा उक्त दरबार अवस्थित छ । दरबार भएको स्थानबाट दिपायल बजार, पिपल्ला बजार, दुधेश्वर, दिल्पेश्वर मठ, वासुधाराजस्ता क्षेत्रको दृष्यावलोकन गर्न सकिन्छ ।

उक्त दरबारमा ११ फिटभन्दा लामो ढुङ्गाको प्रयोग गरी आकर्षक डिजाइनमा निर्माण गरिएको भग्नावशेष पर्खाल अझै रहेको छ । दरबारमा प्रयोग भएका ढुङ्गा, काठ, छानामा प्रयोग भएका स्लेट सबै चोरी भइसकेका स्थानीयवासी बताउँछन् । संरक्षण नहुँदा उक्त दरबार क्षेत्र अहिले कहाली लाग्दो अवस्था छ ।
भग्नावशेष अवस्थामा रहेको डोटी दरबार संरक्षणका लागि पुरातत्व विभागको टोलीले पनि हालै स्थलगत निरीक्षण तथा अवलोकन गरेको छ । तत्कालका लागि नगरपालिकाले छुट्याएको बजेटका आधारमा दरबारको भग्नावशेष अवस्थालाई उत्खनन गरी बाँकी संरचना निर्माणको काममा अगाडि बढाइने पुरातत्व विभागका सव–इञ्जिनीयर गोविन्द अधिकारीले बताउनुभयो ।

सुत्केरी हुन बर्थिङ सेन्टरमा

विभिन्न स्वास्थ्य संस्थाले बर्थिङ सेन्टर सञ्चालनमा ल्याएसँगै यहाँका महिला बर्थिङ सेन्टरमा गई सुरक्षित सुत्केरी गराउन थालेका छन् ।

सरकारी बर्थिङ सेन्टरमा सुत्केरी गराउँदा रु एक हजार बाटो खर्च दिन थालेपछि सुत्केरी गराउन आउनेको सङ्ख्या बढ्न थालेको रानागाउँ स्वास्थ्य कार्यालयका प्रमुख बेद जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिलो गाउँका अधिकांश महिला घरैमा सुत्केरी हुने गर्दथे अहिले हामीले बर्थिङ सेन्टरमा सुत्केरी गराउँदा बाटो खर्च दिने अभियान चालाएपछि उनीहरू सुत्केरी हुन बर्थिङ सेन्टर आउन थालेका छन् ।” यसभन्दा पहिले जिल्ला अस्पतालसहित केही स्वास्थ्य संस्थामा मात्रै सुत्केरी हुने महिलालाई बाटो खर्च दिइँदै आएको थियो ।

पछिल्लो समय डोटीका निजी क्षेत्रबाट सञ्चालन भएका अस्पतालमा सुत्केरी हुन आउने महिलालाई रु एक हजार दिने नियम बनेपछि निजी अस्पतालमा समेत सुत्केरी हुन आउने महिलाको भीड लाग्ने गरेको दिपायल पिपल्लास्थित शैलेश्वरी अस्पतालका निर्देशक आइजँग कुँवरले बताउनुभयो ।

महिला बर्थिङ सेन्टरमा सुत्केरी हुन आउन थालेपछि जिल्लाको मातृ तथा शिशु मृत्युदरमा निकै कमी आएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड भुषण मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो, “महिला बर्थिङ सेन्टरमा सुत्केरी हुन आउन थालेपछि जिल्लाको मातृ तथा शिशु मृत्युदरमा कमी आएको देखिन्छ ।”

बर्थिङ सेन्टरमा सुरक्षित सुत्केरी गराउने महिलाको सङ्ख्या महीनैपिच्छै बढ्दै जान थालेको अस्पतालको तथ्याङ्कले देखाएको छ । जिल्लाका ५२ स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन् ।

त्यस्तै जिल्लाको विकट क्षेत्रमा पर्ने घागल तथा बोगटान क्षेत्रका स्थानीय महिलाले पनि स्थानीयस्तरमा बर्थिङ सेन्टर स्थापना भएपछि अस्पतालमै गएर सुरक्षित सुत्केरी हुन थालेको इलाका स्वास्थ्य कार्यालय बैर्छैनले जनाएको छ ।

स्वास्थ्य संस्थाले प्रसूति सेवा सञ्चालन गरेसँगै स्वास्थ्य संस्थामै आएर प्रसूति गराउने महिलाको सङ्ख्या डोटीमा ७३ प्रतिशतले वृद्धि भइरहेको भए पनि सरकारी पूर्वाधारको अभावमा सेवा दिन केही समस्या उत्पन्न भएको शिखर नगरपालिका स्वास्थ्य एकाइ कार्यालयका स्वास्थ्य निरीक्षक हरिश शाहले बताउनुभयो । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने लामीखालमा मात्रै बर्थिङ सेन्टर घोषणा गर्न बाँकी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । (रासस)

Leave a Reply