धिप्लुङ झरनाको प्रवद्र्धन गर्न स्तरोन्नतिको काम
१५ फागुन, खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीमा रहेको धिप्लुङ झरना १७६ मिटर अग्लो छ । बाह्रै महीना एकनासले स्वच्छ र सफा पानी झर्ने धिप्लुङ झरना जिल्लाकै अग्लो झरना हो । पर्यटकीय क्षेत्रको अथाह सम्भावना बोकेको धिप्लुङ झरनाको दृश्यले जोकोहीको मन लोभ्याउँछ । झरना पुग्ने आन्तरिक तथा बाह्य पर्यटक झरनाको आवाज सुन्दै सोही झरनामा खेल्न, स्नान गर्न र सेल्फी खिच्न तम्सिन्छन् ।
प्राकृतिकरूपले सुसज्जित झरना जिल्लाका विभिन्न ठाउँबाट पनि सजिलै देख्न सकिन्छ । चारैतिर हरियो जङ्गलले घेरिएको खुला ठाउँमा रहेको उक्त झरना टाढैबाट छर्लङ्ग दूधजस्तै सेतो देखिन्छ । लालीगुराँस, चिमाल, चाँप, सुनाखरीलगायतका फूल फुलेर ढकमक्क र सुगन्धित हुने धिप्लुङ झरनामा वनभोज जानेको घुइँचो लाग्छ । शीतल हावा चल्ने झरनामा वसन्त ऋतु लागेसँगै प्रेमी÷प्रेमिकाहरू घुम्न जान्छन् ।
गाउँघरबाट एकान्त घनाजङ्गलको बीचमा रहेको विशाल चट्टानको बीचबाट झर्ने झरना नजिकै वनझाँक्री गुफा रहेको छ । परापूर्वकालदेखि वनझाँक्री बास बस्ने गरेको भनिने उक्त गुफामा स्थानीयले पूजाअर्चना गर्छन् । झरना आसपास रहेको जङ्गलमा घोरल, मृग, दुम्सीलगायतका जङ्गली जनावर तथा कालिज, प्युरा, ढुकुरजस्ता पक्षीहरू प्रशस्तै देख्न पाइन्छ । जिल्लाको कमै वन क्षेत्रमा मात्र पाइने घोरल संरक्षण गर्न उक्त क्षेत्रको जङ्गललाई घोरल संरक्षित क्षेत्र बनाउने गाउँपालिकाको योजना छ ।
पछिल्लो समय दैनिक आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएपछि झरनाको स्तरोन्नति गर्न पहल थालिएको छ । यसका लागि गाउँपालिकाले दुई आर्थिक वर्षमा गरी रु ४५ लाख बजेट विनियोजन गरेको छ । प्रचारप्रसार अभावमा ओझेलमा रहेको झरनाको स्तरोन्नति गरेर पर्यटन प्रवद्र्धन गर्न बजेट विनियोजन गरिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो । “धिप्लुङ झरना प्राकृतिकरूपले भरिपूर्ण छ”, उहाँले भन्नुभयो, “झरनाको मनोरम दृश्यावलोकन गर्न मिल्नेगरी पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गरेर काम थालिएको छ ।”
गाउँपालिकाबाट विनियोजित बजेटले छितापोखरीदेखि झरनासम्म फलामे रेलिङसहितको पदमार्ग निर्माण गर्ने काम भइरहेको छ । पदमार्गको विभिन्न ठाउँमा वर्षातको पानीमा ओत लाग्न तथा घाम लागेको समयमा शीतलमा बस्न स्टिल ट्रष्टसमेत निर्माण गरिने निर्माण उपभोक्ता समितिका अध्यक्ष रमा तामाङले बताउनुभयो ।
साकेला गाउँपालिकाको मात्तिम र खिदिमा तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको टेम्मा र छितापोखरीको सिमानामा पर्ने उक्त झरनासम्म पुग्न सडकसमेत निर्माण गरिएको छ । भौगालिकरूपले विकट क्षेत्रमा रहेको धिप्लुङ झरना जोकोहीले सजिलै पुगेर अवलोकन गर्न सकुन् भन्ने उद्देश्यले सडक निर्माण गरिएको छ ।
धिप्लुङ झरना पुग्न सडक यातायातको प्रयोग गरेर सदरमुकाम दिक्तेलबाट दिक्तेल–पञ्चमी, भोजपुरको पाँचधारे र गाईघाटबाट फोक्सिङटार हुँदै पञ्चमी सडक प्रयोग गर्न सकिन्छ । धिप्लुङ भरना पुग्न पैदलयात्रा गर्दा दिक्तेलबाट चार घण्टा लाग्छ । गाउँपालिकामा धिप्लुङ झरनासँगै आधा दर्जन बढी पर्यटकीय क्षेत्र रहेकाले सिङ्गो गाउँपालिकालाई नै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना बनाइएको छ । उक्त गाउँपालिकामा रहेको पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न सकेमा जिल्लाकै आर्थिक उन्नतिमा सघाउ पुग्ने पर्यटन व्यवसायीको ठम्याइ छ ।
व्यवसायलाई पनि समय दिँदै वडाध्यक्ष
दिनभर जनताका काममा व्यस्त रहनुहुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका वडाध्यक्ष वीरेन्द्र ढकाल बिहान चार बजे उठ्नुहुन्छ । विसं २०३६ देखि विद्यार्थी राजनीतिबाट मूलधारको राजनीति शुरु गर्नुभएका वडाध्यक्ष ढकाल उठ्ने बित्तिकै बाख्रालाई खोले पकाउनुहुन्छ ।
तीन÷चार भाँडा खोले पकाएर फार्मभरि रहेको खसीबाख्रालाई दिनुहुन्छ । खसीबाख्रालाई खोले दिइसकेपछि डोको, नाम्लो र हँसिया लिएर घाँस काट्न जानुहुन्छ । बिहान ९ बजेसम्म वडाध्यक्ष ढकालको समय बाख्रा फार्म र करेसाबारीमै बित्छ । जब ९ बज्छ उहाँ हातखुट्टा धोएर खाना खानुहुन्छ र वडा कार्यालय जानुहुन्छ ।
वडाध्यक्ष ढकालले आफ्नै लगानीमा उन्नत जातको बाख्रा फार्मका साथै केरा तथा कटहरको व्यावसायिक खेती गर्नुभएको छ । विसं २०७२ मा २५ बाख्रा खरीद गरेर शुरु गर्नुभएको बाख्रा फार्ममा अहिले ९५ खसीबाख्रा छन् । आधिकारिकरूपमा कालिका बाख्रा फार्म दर्ता गरेर बाख्रापालन शुरु गर्नुभएका ढकाललाई उहाँकी श्रीमती एलकुमारीले पूरै सहयोग गर्नुभएको छ । तीन छोराकी आमा एलकुमारी दिनभर बाख्रा चराउन तथा घाँस काट्नमा व्यस्त रहनुहुन्छ ।
बिहानबेलुका घरधन्दामा व्यस्त रहनुहुने एलकुमारीलाई श्रीमान वीरेन्द्रले विदाको समयमा दिउँसो पनि सघाउनुहुन्छ । अध्ययनरत रहेका ढकाल दम्पतीको तीन छोरा वरुण, नरेन्द्र र राजकुमार पनि विदाको समयमा बुबाआमालाई नै सहयोग गर्छन् ।
बाख्रा फार्म तथा केरा र कटहर खेतीबाट आएको आम्दानीले तीन छोराको पढाइ, घरखर्च र सामाजिक कामका लागि गरिने खर्च कटाएर वार्षिक रु पाँच लाख बढी बचत हुने गरेको वडाध्यक्ष ढकालले बताउनुभयो । “समाज सेवा गर्ने व्यक्ति पहिले आफू सक्षम हुनुपर्छ”, उहाँले भन्नुभयो, “त्यही भएर व्यवसायबाट आएको आम्दानी घरखर्च कटाएर समाज परिवर्तन गर्नकै लागि खर्च गर्दै आएको छु ।”
वडाध्यक्ष ढकालले श्रीमती एलकुमारीकै नाममा कालिका बाख्रा फार्म दर्ता गरेर खरी र जमुनापारी क्रस जातका बाख्रा पाल्नुभएको छ । वर्षाको समयमा घरबारीकै घाँसले पुग्ने खसीबाख्रालाई ढकाल परिवारले हिउँदमा भने स्थानीय सामुदायिक वनमा चराउने र जङ्गलको घाँस खुवाउने गरेको छ ।
ढकाल दम्पतीको बाख्रा फार्मसँगै दश रोपनी जग्गामा केरा बगान र तीन रोपनी जग्गामा रुख तथा भुइँकटहर लगाइएको छ । फार्ममा उत्पादन भएको खसीबाख्रा र केरा तथा कटहर वडा नं १४ बुइपास्थित पञ्चेदोबाटो बजार र वडा नं १ दिक्तेलस्थित हाटडाँडामा लाग्ने हटियामा खपत हुने गरेको छ ।
ढकाल दम्पतीले फलसँगै भुइँकटहरको बेर्नासमेत उत्पादन गरेर बिक्री गर्दै आएको छ । कमलपित्त तथा निमोनियाका बिरामीलाई औषधि हुने भुइँकटहर वडाभरि विस्तार गर्ने तयारी गरेको वडाध्यक्ष ढकालले बताउनुभयो । पछिल्लो समय ढकाल दम्पतीको आम्दानी देखेर छिमेकीले पनि व्यावसायिकरूपमा केरा तथा कटहर खेती शुरु गरेका छन् । कृषिका लागि उर्वरभूमि मानिने विजयखर्कमा नगरपालिकाले यस वर्ष केरा पकेट क्षेत्र बनाउने लक्ष्यका साथ छ हजार बिरुवा रोपेको छ ।
विजयखर्कमा केरासँगै सुन्तला, लिची, आँप, अम्बा, निबुवा, कागतीलगायत सबै प्रकारका फलफूल उत्पादन हुन्छ । अन्नबालीतर्फ धान, मकै, कोदो, गहुँ, फापर, जुनेलोलगायत अत्यधिक फल्ने गरेको छ । (रासस)