लुम्बिनी विकासको घोषणा
१० फागुन, रुपन्देही । राष्ट्रियसभाका सदस्य खिमलाल भट्टराईले लुम्बिनीको विकासका लागि अगुवाइ गर्ने घोषणा गर्नुभएको छ । सदस्य भट्टराईकै अगुवाइमा लुम्बिनी प्राथमिक स्वास्थ्य केन्द्रलाई सहयोग हस्तान्तरणका लागि बिहीबार लुम्बिनीमा आयोजना गरिएको कार्यक्रममा उहाँले बुद्धको जन्मस्थल भए पनि लुम्बिनीको विकास हुन नसकेकाले अब विकासको जिम्मा आफूले लिने बताउनुभयो ।
उहाँले शान्ति खोज्दै वर्षेनी १६ लाख पर्यटक आउने लुम्बिनीको गरीबी र पछौटेपन देखेर पर्यटक खिन्न भएर फर्कने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “आफैँ झगडा गराउने र आफैँ मिलाउने नेता यहाँ छन्, यस्तो अवस्थाको अन्त्य गरी जनताका पक्षमा काम गर्न जरुरी छ ।” उहाँले लुम्बिनीमा स्वास्थ्य उपचारका लागि व्यवस्था नभएकाले छिट्टै अस्पताल बनाउन मन्त्रालयसँग कुरा भइरहेको जानकारी गराउनुभयो ।
“यहाँ आउने पर्यटक बिरामी भए उपचार गर्न जाने ठाउँ छैन”, उहाँले भन्नुभयो, अब सुविधासम्पन्न अस्पताल निर्माणका लागि मैले प्रयास थालेको छु ।” लुम्बिनीमा रहेको एउटा मात्रै प्राथमिक स्वास्थ्य केन्द्र तथा प्रसूतिगृहको सेवा सुविधासमेत प्रभावकारी नहँुदा स्थानीय सन्तुष्ट हुन नसकेको उहाँको भनाइ थियो ।
कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले स्थानीय, प्रदेश र सङ्घीय सरकार मिलेर स्वास्थ्य र शिक्षा निःशुल्क गर्नुपर्ने धारणा राख्नुभयो । “देशमा स्वास्थ्य उपचार सेवा महँगो छ, कुनै रोग लागि हालेमा गरीबले उपचार नपाएर मर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “लुम्बिनीमा सर्वसुलभ सर्पदंश र रेबिजको उपचार केन्द्र आवश्यक छ ।”
राष्ट्रियसभाका सदस्य भट्टराईको पहलमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभेलपमेन्टले लुम्बिनीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रु ११ लाख मूल्य बराबरको सामग्री हस्तान्तरण गरेको स्वास्थ्य केन्द्रका प्रमुख डा विनोद खनालले जानकारी दिनुभयो । स्वास्थ्य केन्द्रलाई प्रसूति सामग्री, सुरक्षा उपकरण तथा बिरामीलाई आवश्यकपर्ने लत्ताकपडा लगायतका ३४ प्रकारका सामग्री हस्तान्तरण गरेको सहयोगी संस्थाका कार्यक्रम व्यवस्थापक जिवा पोखरेलले जानकारी दिनुभयो । (रासस)