\
राष्ट्रिय समाचारसमाचार

कारागारमा मुढा बुनाइ : समयको सदुपयोगसँगै आम्दानी

१ फागुन, दमौली । दश वर्षदेखि तनहुँ कारागारमा सजाय काटिरहनुभएका ६७ वर्षीय नरबहादुर चन्दले कारागारभित्रै मुढा बुन्न थालेको साढे दुई वर्ष भयो । बिहान उठेदेखि नै दिनभर उहाँ मुढा बुन्ने काममा व्यस्त रहने गर्नुहुन्छ । कारागारमा यत्तिकै बसेर दिन कटाउनुभन्दा केही आयआर्जनको काम गरौं भन्ने लागेर मुढा बुन्ने काममा खटिएको उहाँले बताउनुभयो ।

कारागारमा मुढा बुन्ने कामले मन बहलाउनुको साथै आम्दानीको स्रोत पनि भएको चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “कारागारमा यत्तिकै बसिरह्यो भने पागल जस्तो भइन्छ । मुढा बुन्ने कामले दिन काट्न सजिलो भएको छ ।”

सीप सिकेर मुढा बुन्ने काम गर्दा समयको सदुपयोगसँगै केही आम्दानी पनि भएको चन्दले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “विगतमा गल्ती भयो, अहिले कारागारमा त्यसकै सजाय काट्दैछु, यत्तिकै बस्न मन लागेन अनि मुढा बुन्न शुरु गरेँ ।”

उहाँका अनुसार एउटा मुढा तयार गर्नका लागि दुई÷तीन लाग्छ । एउटा मुढा तयार भएपछि ठिक्क खालको मुढा रु चार सयमा बिक्री हुन्छ । उहाँले श्रम अनुसार मूल्य भने नपाएको गुनासो गर्नुभयो ।

कारागारमा मुढा बुनेर मासिक रु पाँचदेखि छ हजारसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मुढा बुनेर आम्दानी भएको पैसा घरमा पठाउने गरेको छु ।”

कारागारमा रहनुभएका अर्का कैदी महेन्द्र गुरुङले सीपले मन बहलाउनुका साथै आम्दानी पनि भएको बताउनुभयो । उहाँले पनि मुढा बुनेर भएको आम्दानी घरमा पठाउने गरेको जानकारी दिनुभयो ।

कारागारमा रहेका कैदीबन्दीले दशंै, तिहारमा बढी मात्रामा मुढा बुन्ने गरेका छन् । दशैं तिहारमा मुढाको बढी माग हुने भएकाले चाडपर्वको बेला कैदीबन्दीलाई मुढा बुन्न भ्याइनभ्याइ हुने गरेको कारागारका चौकीदार नरबहादुर थापाले जानकारी दिनुभयो ।

मुढा उठाउने, टायर राख्ने, बुन्ने, बिट मार्ने र बुट्टा भर्ने काम फरक–फरक व्यक्तिले गर्ने गरेका छन् । एक जनाले मासिक रु पाँचदेखि छ हजारसम्म कमाइ गर्ने गरेका छन् ।

कारागारमा रहेका कैदीबन्दीमध्ये सत्तरी जनाले मुढा बुन्ने सीप सिकेर दैनिक रुपमा मुढा बुनिरहेको उहाँले जानकारी दिनुभयो । कैदीबन्दीले फर्निचर, पेन्टिङ लगायतका सीपसमेत सिक्न चाहे पनि ठाउँ अभावका कारण ती सीप प्रदान गर्न नसकिएको चौकीदार थापाले बताउनुभयो ।

कारागारका निमित्त प्रमुख नारायण अधिकारीले कैदीबन्दीकै माग बमोजिम कारागारमा तीन महीने सिलाइकटाइ तालीम शुरु गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“कैदीबन्दीलाई सीप सिकाएर आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालीम दिने गरेका छौं ।” (रासस) ः

Leave a Reply