अक्षकोषका लागि दुई लाख सहयोग
२८ माघ, बेझाड पाल्पा । विद्यालयको पढाइस्तर सुधार्न रामपुर नगरपालिका– १स्थित चन्द्रोदय माध्यमिक विद्यालयमा स्थापित एक कोषका लागि सहयोगस्वरुप रू दुई लाख प्राप्त भएको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीको पढाइको स्तर खस्किएको देखेर त्यसलाई सुधार्न जापानी नागरिक ताकेडाले अक्षयकोष स्थापना गर्नुभएको थियो । सो कोषको श्रीवृद्धिका लागि अर्का जापानी नागरिक काजुमासा काकीमी (ओकेबाजे) ले प्रधानाध्यापक टङ्कनाथ पोखरेललाई दुई लाखको चेक प्रदान गर्नुभयो ।
उक्त विद्यालयमा एसइई परीक्षा उत्र्तीण भई विज्ञान विषय लिएर बिएसीसम्म अध्ययन गर्न इच्छुक गरीब, जेहेन्दार, विपन्न र दलित विद्यार्थीको अध्ययनका लागि उक्त कोषबाट प्राप्त व्याज रकमबाट सहयोग उपलब्ध गराइने प्रधानाध्यापक पोखरेलले बताउनुभयो ।
आर्थिक अवस्था नाजुक हुँदा कतिपय विद्यार्थीले एसइई परीक्षा उत्र्तीण गरेपछि पढाइ छाडने गरेकाले ओकेबाजेकै पहलमा अक्षयकोषका लागि ताकेडाले सहयोग गर्नुभएको हो ।
कैदीबन्दीलाई पुस्तक तथा खेलकूदका सामग्री
पाल्पा जिल्ला कारागारका कैदीबन्दीलाई पुस्तक तथा खेलकूदका सामग्री वितरण गरिएको छ । पुस्तक दिवसको अवसरमा आइतबार नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ पाल्पा शाखाले तानसेनमा रहेको सो कारागारलाई पुस्तक तथा खेलकूदका सामग्री उपलब्ध गराएको हो ।
एकासी थान पुस्तक, दुईवटा बल, एक–एक थान चेस तथा लुडो एक थान ब्याटमिन्टन र एक दर्जन कक प्रदान गरिएको शाखा अध्यक्ष किशोर भट्टराईले बताउनुभयो । आगामी वर्ष पनि यो सहयोगलाई निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो ।उक्त कारागारमा ५६ महिला दुई बालबालिका र २३३ पुरुष कैदीबन्दी छन् । पुस्तक तथा खेलकूदका सामग्री पाएपछि खुशी लागेको कैदी राजु आचार्यले बताउनुभयो । (रासस)