सामुदायिक विद्युत् उपभोक्ता जिल्ला महासङ्घमा सङ्ग्रामजित
२२ माघ, बनेपा । सामुदायिक विद्युत् उपभोक्ता जिल्ला महासङ्घ काभ्रेपलाञ्चोकको सोमबार धुलिखेलमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनले सङ्ग्रामजित लामाको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गरेको छ ।
सामुदायिक विद्युतीकरणमार्फत ग्रामीण भेगमा उपभोक्तालाई विद्युत् सेवा विस्तारका लागि सहयोगी बन्दै आएका संस्थाको साझा संस्था महासङ्घको उपाध्यक्षमा सुनबहादुर लामा, सचिवमा डिल्ली रेग्मी, सहसचिवमा चन्द्रसिं लामा, कोषाध्यक्षमा बबिता बोहोरा र सदस्यमा क्रमशः सानुकान्छा तामाङ, राजकुमार लामा, कृष्णकुमार कार्की, ललिता चिमौरिया, राम लामा, इन्द्र पाण्डे, हरि प्रधान र चन्द्रमाया लामा रहनुभएको छ ।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशैभरि प्रयोगमा ल्याइएका काठका खम्बा जोखिमपूर्ण भएकाले त्यसलाई फेर्न आवश्यक बजेटको व्यवस्था गर्न अर्थ मन्त्रालयसँग कुरा भइरहेको बताउनुभयो । प्राधिकरणले त्यसका लागि गर्नुपर्ने सहयोगी निकायसँग मिलेर उपभोक्तालाई विद्युत् उपभोग गर्न पाउने व्यवस्थालाई थप व्यवस्थित गर्न सबै लाग्न आवश्यक रहेको उहाँको भनाइ छ ।
उहाँले विद्युत् माग गर्ने उपभोक्तालाई मिटर वितरण गर्ने व्यवस्था मिलाइरहेको उल्लेख गर्दै माग गरेको सात दिनभित्र मिटर उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको बताउनुभयो । “मिटर नदिँदा पनि छिमेकीबाट बढी पैसा तिरेर बाल्ने र नभएपछि चोरी गरेरै बाल्ने गरेको पाइएको छ, मिटर दिएपछि उपभोक्ताले बाल्न पनि पाउने भयो र चुहावट पनि कम हुने भएकाले मिटर बाँडेकै उचित हुन्छ भनेर माग गरेको एक हप्ताभित्रै उपलब्ध गराउनु भनेर हामीले भनेका हौँ ।” घिसिङले भन्नुभयो ।
उहाँले ग्रामीण क्षेत्रमा भएको ट्रान्सफर्मरलाई समय समयमा जाँच गर्न सम्बन्धित निकायलाई निर्देशक दिनुभयो । “बिग्रेपछि मात्रै जाँच गर्ने होइन, बिग्रनु अघि नै जाँच गरेर काम गरेमा जोखिम कम हुन्छ”, उहाँले भन्नुभयो, “सरकारले अबको पाँच वर्षभित्रमा देशैभरि विद्युतीकरण पु¥याउने योजना बनाएको छ, यो सरकारको कार्यक्रम भएकाले त्यसलाई पूर्णता दिन सबैको उत्तिकै साथ सहयोग आवश्यक छ ।”
सामुदायिक विद्युत् उपभोक्ता महासङ्घका केन्द्रीय अध्यक्ष नारायण ज्ञवालीले सामुदायिक विद्युतीकरण विनियमावली, २०७१ लाई पूर्ण कार्यान्वयनमा ल्याइनुपर्ने बताउनुभयो । अधिवेशनमा जिल्लाभित्र सञ्चालन भइरहेका सामुदायिक विद्युत् उपभोक्ता सहकारी सस्ंथाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । (रासस)