\
राजनीतिराष्ट्रिय समाचारसमाचारहेडलाइन

नेकपा कार्यदलप्रति ओली – दाहाल असन्तुष्ट

२० माघ, काठमाडौं । नेकपा अध्यक्षद्वयले पार्टीको संगठनात्मक प्रतिवेदन तयार पार्न गठन गरेको कार्यदलको प्रतिवेदन अपूरै भए पनि माग्ने संकेत गरेका छन् । पार्टी एकता टुंगो लगाउन स्थायी समिति बैठकले १३ पुसमा गठन गरेको कार्यदलले काम गर्न ढिलाइ गरेपछि अहिलेसम्मका कामको प्रतिवेदन पूरा नभए पनि नेताहरूले माग्ने तयारी गर्न थालेका छन् ।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको ढिलाइबारे छलफल भएको थियो । स्रोतका अनुसार दुई अध्यक्षबीच कार्यदललाई केही दिन पर्खने, पर्खँदा पनि प्रतिवेदन बुझाउने तत्परता नदेखाए अपूरै भए पनि माग्ने मनस्थिति ओली–दाहालले बनाएका छन् ।

मंसिर २९ देखि पुस १३ सम्म बसेको स्थायी समितिले सचिवालय सदस्य रामबहादुर थापाको नेतृत्वमा ९ सदस्यीय चौथो शक्तिशाली कार्यदल गठन गरेको थियो । यसअघि ३ वटा कार्यदल बनाए पनि सबै त्यसै निष्क्रिय भएका थिए । पछिल्लो कार्यदललाई जिल्ला तहसम्मको एकता र केन्द्रीय नेताको कार्यविभाजन प्रस्ताव तयार पार्ने जिम्मा दिइएको थियो ।

कार्यदललाई १०/१२ दिनम काम सक्न निर्देशन दिइएको थियो । १६ पुसमा काम थाले पनि सचिवालयद्वारा गठित प्रदेश कमिटी चयनकै विवादभित्र रुमल्लिनुभन्दा बढी कार्यदलले कुनै प्रगति गर्न सकेको छैन । कार्यदलमा पनि अध्यक्षद्वय ओली, दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षका ३/३ जना नेता छन् । यसबाट नेताहरूका स्वार्थ जुधेपछि एकीकरणको मापदण्डसमेत बन्न सकेको छैन ।

गठन भएयता कार्यदलको बैठक ७ पटक मात्र बसेको छ । तर पछिल्लो पटक ७ माघयता कार्यदलको बैठक नै बस्न सकेको छैन । कार्यदलले पुस मसान्तसम्म प्रतिवेदन बुझाए एकतासम्बन्धी सबै टुंगो लगाउने निर्णय नेकपा स्थायी समिति बैठकले गरेको थियो ।

तर बढीमा दुई साताको म्याद पाएको कार्यदलले काम थालेको ३४ दिनसम्म पनि के गर्ने अलमलिएको छ । संयोजक थापा र महासचिव विष्णु पौडेलले कार्यदलको बैठक बोलाउने विषयमा सदस्यलाई कुनै जानकारी दिएका छैनन् । कार्यदल सदस्य तथा स्थायी समिति सदस्य वेदुराम भुषालले आफूहरू कार्यदलको बैठक कुरेर बसेको बताए । ‘बैठक बस्ने/नबस्ने अहिले कार्यदल संयोजक र महासचिवले हामीलाई कुनै जानकारी दिनुभएको छैन’, उनले भने, ‘बैठक बोलाउनु पर्‍यो, नबोलाएर हुन्छ ? हामी पर्खेर बसेका छौं, हेरौं ।’

भुषालले स्थायी समितिबाट गठित भएकाले कार्यदलबाहेक अन्यले एकताको काम गर्न नसक्ने पनि बताए । ‘कार्यदललाई निष्क्रिय पारेर कसले गर्ने, सचिवालयले कसरी गर्न पाउँछ ? ’, उनले भने, ‘स्थायी समितिले बनाएको कार्यदललाई सचिवालयले न विघटन गर्न पाउँछ, न निर्देशन दिन पाउँछ, न त निष्क्रिय बनाउन पाउँछ, केही गर्न पाउँदैन ।’

बैठक नै नबसेपछि शीर्ष नेताहरूबाट कार्यदल निष्क्रिय बनाउन सक्ने सदस्य लेखराज भट्टले आशंका गरे । ‘कार्यदलको बैठक नै बस्न छाडेको देख्छु, यो हेर्दा त कतै निष्क्रिय बनाउन खोजेको हो कि भन्ने आशंका लाग्न थालेको छ’, उनले भने । कार्यदलले अलमल गर्ने र प्रतिवेदन तयार पार्न नसक्ने हो भने प्रतिवेदन मागेर आफैं निर्णय गर्ने तयारीमा शीर्ष नेताहरू देखिएका छन् ।-अन्नपोष्टपूर्णपोष्टबाट

Leave a Reply