अवैध ढुङ्गा, बालुवा उत्खननमा रोक
१८ माघ, अत्तरिया । कर्णाली नदीमा अवैध रूपमा ढुङ्गा, गिट्टी, बालुवाको उत्खननमा रोक लगाइएको छ । कर्णाली नदीमा प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन (आइईई) बिनै ढुङ्गा, बालुवा सङ्कलन, उत्खनन भएको पाइएपछि जिल्ला समन्वय समिति कैलालीले उत्खननमा रोक लगाएको हो ।
जिल्ला समन्वय समिति कैलालीका अनुसार कर्णाली नदीमा प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी ढुङ्गा, गिट्टी, बालुवा सङ्कलन, उत्खनन तथा घाटगद्दी गरेको पाइएपछि रोक लगाइएको हो ।
समन्वय समितिले अनुगमनको क्रममा आइइई नगरेका ठाउँमा उत्खनन गरी कर्णालीलाई चिरा–चिरा पारिएको पाइएकोले उत्खनन्मा रोक लगाइएको जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले बताउनुभयो ।
उहाँका अनुसार आईईई गरेको ठाउँमा उत्खनन गर्न दिइने र आइईई नभएको सबै ठाउँलाई बन्द गरी व्यवस्थित गरिनेछ । थापाका अनुसार कर्णाली पुल चिसापानीदेखि ३ किलोमिटरपरबाट १० किलोमिटरसम्म उत्खनन बन्द गरिएको छ ।
जिल्लाका १३ स्थानीय तहसँग समन्वय गरी यहाँका विभिन्न खोला, नाला, नदीमा अवैध रूपमा सङ्कलन गरिँदै आएको ढुङ्गा, गिट्टी, बालुवा सङ्कलन, उत्खनन बन्द गरिएको समेत संयोजक थापाले जानकारी दिनुभयो । (रासस)