\
राष्ट्रिय समाचारसमाचार

म्याग्दीमा दुर्लभ ‘लोन्डेसी’ गुराँस भेटियो

१८ माघ, गलेश्वर । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको जङ्गलमा दुर्लभ जातको ‘लोन्डेसी’ प्रजातिको गुराँस भेटिएको छ । नीलगिरि–अन्नपूर्ण बेस क्याम्प जाने बाटोको जगरघारी, खानी वन र हुमकलाको जङ्गलमा विश्वमै अत्यन्त दुर्लभ मानिएको ‘लोन्डेसी’ प्रजातिको गुराँस भेटिएको गाउँपालिका–४ का अध्यक्ष चन्द्रप्रसाद फगामीले जानकारी दिनुभयो ।

वडाध्यक्ष फगामीका अनुसार नारच्याङमा निर्माणाधीन मिस्त्रीखोला जलविद्युत् आयोजनाको वातावरण एकाइले अनुसन्धान गर्दा वातावरणविद् कुलप्रसाद लिम्बू र कमल मादेनले नारच्याङको जङ्गलमा भेटिएको नयाँ प्रजातिको गुराँस ‘लोन्डेसी’ नै भएको पुष्टि गर्नुभएको हो ।

अनुसन्धान टोलीमा संलग्न मिस्त्रीखोला जलविद्युत् आयोजनाको वातावरण एकाइमा कार्यरत शिव पुर्जाका अनुसार हुमकला जङ्गलमा बढी मात्रामा यो प्रजातिको गुराँस देखिएको छ । उहाँका अनुसार समुद्री सतहदेखि चार हजार मिटरभन्दा बढीको उचाइमा मात्र पाइने यो प्रजातिको गुराँस मुस्ताङ, मनाङलगायतका उच्च हिमाली भेगमा जङ्गलमा पनि नभेटिएको तर त्योभन्दा कमको नारच्याङको जङ्गलमा भेटिएकाले वातावरणविद्समेत आश्चर्यमा परेका छन् ।

पुर्जाका अनुसार यो गुराँसको बोटको उचाइ करीब पाँच सेन्टिमिटर मात्र हुने गर्छ । पहेँलो र गुलाबी मिश्रण भएजस्तो देखिने यसको रङ हुन्छ भने फूल अत्यन्त सानो हुन्छ ।

नारच्याङको जङ्गलमा भेटिएको यस्तो दुर्लभ प्रजातिको गुराँसको संरक्षणमा वडा कार्यालयले अझै व्यापकरूपमा खोजी अनुसन्धान गर्ने र संरक्षणका उपाय अपनाइने वडाध्यक्ष फगामीले बताउनुभयो ।

ब्रेनट्युमर पीडितलाई सहयोग

जापानमा ब्रेनट्युमरका कारण सिकिस्त एक म्याग्देली चेलीको उपचारका लागि जापानमा रहेका म्याग्देलीले आर्थिक सहयोग अभियान सञ्चालन गरेका छन् ।

जिल्लाको रघुगङ्गा गाउँपालिका–३ पिप्लेकी प्रमिला दर्जीको उपचारका लागि मोना जापानमा आबद्ध म्याग्देलीले सहयोग अभियान सञ्चालन गरेको र हालसम्म रु ५० हजार सहयोग सङ्कलन भएको मोना जापानका सदस्य सागर कार्कीले जानकारी दिनुभयो ।

एक वर्ष अगाडि पिप्लेकै दिनेश दर्जीसँग विवाह गरेपछि जापान गएकी प्रमिला केही दिन अघि छोरी जन्माएपछि एक्कासि बेहोस हुनुभएको र जापानको कुवाना अस्पतालमा स्वास्थ्य जाँच गराउँदा ब्रेनट्युमर भएको चिकित्सकले बताएको जापानबाट कार्कीले जानकारी दिनुभयो । त्यसपछि प्रमिलाको शल्यक्रिया गरिएको थियो ।

ब्रेनट्युमरको शल्यक्रियापछि प्रमिलाको अवस्था थप चिन्ताजनक भएको मोना जापानका अध्यक्ष दीपक कार्कीले बताउनुभयो । “अवस्था चिन्ताजनक छ, आमाको काखमा शिशु छ, उपचारमा लाखौँ खर्च हुन्छ”, कार्कीले भन्नुभयो । सहयोग सङ्कलन अभियानमा सरिक हुन र सक्दो सहयोग गरी प्रमिलालाई बचाउन मोना जापानका सदस्य कार्कीले सबैसँग आग्रह गर्नुभएको छ । (रासस)

Leave a Reply