सरकारलाई जवाफ लिन निर्देश
१४ माघ, काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले नेपाली काँग्रेसका शीर्ष नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापित अस्पतालका बारेमा सदनमा काङ्ग्रेसले उठान गरेको चासो र चिन्ताका विषयमा आगामी बैठकमा जवाफ दिन सरकारलाई निर्देश गर्नुभएको छ ।
राष्ट्रियसभाको आजको दोस्रो बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । काङ्ग्रेसले आफ्ना शीर्ष नेता द्वयका नाममा स्थापित अस्पताललाई सरकारले कुन निकायअन्तर्गत सञ्चालन गर्ने भन्ने कुनै निर्णय नगरेकामा आपत्ति जनाउँदै राष्ट्रियसभाको बैठक अवरुद्ध गर्दै आएको छ ।
आजको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृतसमेत गरेको थियो । बैठकपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सहमतिमा नै आएको सञ्चारकर्मीलाई बताउनुभयो । उहाँले एउटा विश्वविद्यालयले पाँचभन्दा बढी चिकित्साशास्त्र अध्ययनको अनुमति दिइसकेको अवस्था रहेको बताउँदै आगामी दिनमा यसलाई विधेयकले व्यवस्थित गर्नेछ भन्नुभयो ।
काङ्ग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आफ्नो पार्टीका सांसदले सदनमा उठान गरेका विषयवस्तुमा सरकार गम्भीर बन्न नसकेको आरोप लगाउनुभयो । (रासस)