\
राष्ट्रिय समाचारसमाचार

ह्याण्डबल एकेडेमी निर्माण

१३ माघ, कास्की । पोखरा रङ्गशालाभित्र करीब १० रोपनी जमिनमा ह्याण्डबल एकेडेमी निर्माण गरिएको छ ।

राष्ट्रिय खेलकूद परिषद्को सहयोग र नेपाल ह्याण्डबल सङ्घ तथा जिल्ला खेलकूद विकास समिति कास्कीको समन्वयमा नेपालमै पहिलो पटक रु ९९ लाखको लागतमा एकेडेमी निर्माण गरिएको नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेजबहादुर गुरुङले बताउनुभयो ।

एकेडेमीमा ह्याण्डबल मैदान, सभाहल, महिला/पुरुष चेन्जिङरुम, स्टोर, किचन, प्रशासनिक कक्षलगायतका संरचना निर्माण गरिएको छ । ४०/२० मिटरको ह्याण्डबल मैदानमा दुई लेनको प्याराफिट निर्माण गरिएको छ ।

सो एकेडेमीको शनिबार उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले खेल पूर्वाधारको निर्माणले गण्डकी प्रदेशमा खेलकूदको विकासमा टेवा पुग्ने बताउनुभयो ।

एकेडेमी निर्माणले ह्याण्डबल खेलको तल्लोतहबाटै विकास गराउन थप मद्दत पुग्ने अपेक्षा सङ्घको छ । नेपालमा हुने दक्षिण एशियाली खेलकूद (साग)लाई लक्षित गरी सो एकेडेमी निर्माण गरिएको बताइन्छ ।

यसैबीच कास्की जिल्ला ह्याण्डबल सङ्घको आयोजना तथा नेपाल ह्याण्डबल सङ्घको प्राविधिक सहयोगमा यही माघ ९ गतेदेखि शुरु भएको चौथो संस्करणको ‘एकता बुक्स अन्तर बिद्यालय छात्रछात्रा ह्याडबल’ प्रतियोगितामा छात्रातर्फ पोखरा एकेडेमी र छात्रतर्फको उपाधि माउण्ट अन्नपूर्ण स्कुलले जितेका छन् ।

११–युवालाई सीप तालीम

बुटवल उपमहानगरपालिकाले यहाँका युवाहरुलाई सीपमूलक तालीम दिएको छ । उपमहानगरले एक परिवार एक रोजगार/स्वरोजगार (नगर प्रमुख युवा इलम) कार्यक्रमअन्तर्गत पाँच सय युवालाई इलम सिकाएको हो ।

‘मेयर युवा इलम नाम’को नौलो कार्यक्रममार्फत पहिलो चरणमा बुटवलको १९ वडाका तीन सय ६५ युवालाई इलम सिकेको प्रमाणपत्रसमेत वितरण गरिएको छ ।

इलम सिकेका युवालाई दक्षताका आधारमा रोजगारादाताहरुको सहकार्यमा रोजगारीसमेत दिने गरी इलम सिकाउने अभियान शुरु गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।

युवा स्वरोजगार कार्यक्रम यस क्षेत्रको नमुना र स्वागतयोग्य कार्यक्रम मानिएको छ । सोही अभियानस्वरूप पहिलो चरणको प्राविधिक तालीम लिएका २३२ जना युवालाई पनि प्रमाणपत्र वितरण गरिएको छ ।

सीप विकास तालीम केन्द्रमार्फत यी युवाहरुलाई कुक, एसी तथा रेफ्रिजेरेटर मर्मत तथा प्लम्बिङ र फेशन डिजाइनरसम्बन्धी सीप सिकाइएको थियो । कुक तालीम लिएका ८० जना, एसी तथा रेफ्रिजेरेटर मर्मत तालीम लिएका ४६ जना, प्लम्बिङ तालीम लिएका १२ जना र फेशन डिजाइन तालीम लिएका ९४ जना छन् । बुटवलको समृद्धिका लागि बुटवलवासीकै योगदान र सहकार्य भन्ने मान्यताका साथ अभियान चलाइएको थियो ।

सीप सिकेका युवालाई रोजगारीका लागि रोजगादाताहरुसँगको समन्वयमा अर्को चरणको कार्यक्रमसमेत अगाडि बढाउने बारेमा छलफल भइरहेको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो ।

युवाहरुलाई हेभी हाइड्रोलिक सिस्टम (स्काभेटर, डोजर, ग्रेडर, रोलर, भाइब्रेटर) का उपकरणहरुको मर्मत गर्नेबारे तालीम दिइएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले बताउनुभयो । अटो मेकानिक्स, जनरल मेकानिक्स, वेल्डिङ सोलार इलेक्ट्रिकल, होटल म्यानेजमेन्टअन्तर्गतको कुक तालीम, तथा एसी, रेफ्रिजरेटर मर्मतलगायतका विषयमा तालीम दिइएको थियो । (रासस)

Leave a Reply