समानुपातिक विज्ञापन नीति लागू गर्न माग
१२ माघ, बुटवल । नेपाल पत्रकार महासङ्घ प्रदेश नं ५ ले स्थानीय र साना लगानीका सञ्चारमाध्यमलाई संरक्षण र सम्वद्र्धनका लागि समानुपातिक विज्ञापन नीति लागू गर्न र स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई उपलब्ध गराउन माग गरेको छ ।
महासङ्घको आयोजनामा पत्रकार शहीद कृष्ण सेन इच्छुको गृह क्षेत्र अर्घाखाँचीको सीतगङ्गा नगरपालिका–८ जलुकेमा आयोजित दुईदिने प्रादेशिक सञ्चार सम्मेलनले १० बुँदे घोषणापत्र जारी गर्दै मुलुक सङ्घीय संरचनामा प्रवेश गरिसकेपछि राज्यका सञ्चारसम्बन्धी विभिन्न निकायसमेत सङ्घीय संरचनामा रुपान्तरण हुनुपर्नेमा जोड दिएको छ ।
घोषणापत्रमा प्रेस काउन्सिल, सूचना विभाग, राष्ट्रिय सूचना आयोग, न्यूनतम पारिश्रमिक निर्धारण समितिलगायत सञ्चारसम्बन्धी निकायलाई विकेन्द्रित गर्दै सङ्घीय संरचनामा रुपान्तरण गर्नुपर्नेमा जोड दिइएको छ ।
यस्तै घोषणापत्रमा प्रेसको भूमिका बढाउँदै पत्रकारको क्षमता वृद्धिका लागि प्रादेशिक आम सञ्चार प्रतिष्ठान गठन गर्न र श्रमजीवी पत्रकारको पेशागत सुरक्षासँगै पत्रकारका लागि सञ्चार उपकरण खरीदमा सहुलियत प्रदान गर्ने व्यवस्थाका लागि स्थानीय तहलाई आग्रह गरिएको छ ।
सम्मेलनले सरकारी समाचार एजेन्सी तथा सञ्चारमाध्यमलाई प्रादेशिक सेवा शुरु गर्न आग्रह गर्नुका साथै सम्मेलनले सरकार र निजी क्षेत्रको साझेदारीमा गैरनाफामुखी सञ्चारमाध्यम सञ्चालनको अभ्यास गर्न स्थानीय तहलाई अनुरोधसमेत गरेको छ ।
सम्मेलनले प्रेस स्वतन्त्रताको रक्षा गर्दै श्रमजीवी पत्रकार ऐन, सूचनाको हक कार्यान्वयनमा सबै पक्ष प्रतिबद्ध हुनुपर्ने ठहर गर्दै सम्मेलनले न्यूनतम पारिश्रमिक पूर्णरुपमा कार्यान्वयन गर्न आग्रह गरेको छ । घोषणापत्रमा पत्रकार आचारसंहितामा संवेदनशील हुन सबै सञ्चारकर्मीलाई स्मरण गराउँदै बाल संवेदनशील पत्रकारितामा जोड दिएको छ ।
पत्रकार तथा शहीद कृष्ण सेन इच्छुकको सम्मान र सम्झनामा उहाँको गृहस्थल क्षेत्रमा उहाँको नाममा सञ्चार सङ्ग्रहालय तथा सञ्चार पार्क स्थापना गर्नसमेत सम्मेलनले जोडदार माग गरेको छ । सम्मेलनको शुक्रबार प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले उद्घाटन गर्नुभएको थियो ।
सम्मेलनमा शहीद इच्छुकको जिवनी र उहाँको हत्याका बारेमा वरिष्ठ पत्रकार तथा नेकपाका नेता सूर्य थापाले र प्रादेशिक सञ्चार संरचनामा मिडिया विषयमा पत्रकार डिआर घिमिरेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सञ्चार सम्मेलनमा प्रदेशका १२ जिल्लाका १५० पत्रकारको सहभागिता रहेको थियो । (रासस)