\
राष्ट्रिय समाचारसमाचार

दैवी प्रकोपपीडितलाई राहत वितरण

११ माघ, बेनी । म्याग्दीमा दैवी प्रकोपपीडितलाई रु नौ लाख बढी राहत वितरण भएको छ । जिल्ला प्रशासन कार्यालय मातहत रहेको विपद् व्यवस्थापन कोषबाट गत साउनदेखि पुस मसान्तसम्म रु नौ लाख ३० हजार राहत वितरण गरिएको हो ।

जिल्लामा विभिन्न किसिमका विपद्मा परेर पीडित भएका सर्वसाधारणलाई जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार उक्त राहत रकम वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लीलादेवी अर्यालले जानकारी दिनुभयो ।

अहिलेसम्म ५७ घरपरिवारलाई राहत वितरण गरिएको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रबाट प्राप्त भएको रु १५ लाखसहित अहिलेसम्म विपद् व्यवस्थापन कोषमा रु ३० लाख बाँकी मौज्दात रहेको सहायक प्रजिअ अर्यालले बताउनभुयो ।

यसैगरी बिहीबार प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला व्यवस्थापन समितिको बैठकले बेनी अस्पतालको निर्माणाधीन भवनको छतमा हेलिकप्टर अवतरण गराउन सकिने संरचनाको ‘डिजाइन इस्टिमेट’ गर्न शहरी विकास तथा भवन निर्माण कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकले जिल्लामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको निर्माणकर्ता ठेकेदार कम्पनी जयप्रकाश एशोसिएट्स लिमिटेड, इञ्जिनीयरिङ डिभिजन, जेपी ग्रुपलाई आयोजनामा काम गर्ने कामदारको सुरक्षाका लागि भारतबाट दुई एम्बुलेन्स ल्याउन आवश्यक सहजीकरण गरिदिन गृहमन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकले अन्नपूर्ण–५ शिख फलाटेका आगलागीपीडित हुमादेवी पुर्जालाई रु २० हजार, अन्नपूर्ण–३ दानाका इन्द्रसिंह शेरचनलाई रु १५ हजार, बेनपा–८ का विक्रम विकलाई रु १० हजार, मालिका–७ का राममाया जैसी भण्डारीलाई रु १५ हजार र बेनी नगरपालिका–६ हरिबहादुर बानियाँलाई रु पाँच हजार राहत दिने निर्णय गरेको पनि प्रजिअ अधिकारीले जानकारी दिनुभयो । (रासस)

Leave a Reply