सुरक्षाविहीन त्रिदेशीय तिङ्कर नाका
५ माघ, दार्चुला । दार्चुलाको उत्तरी क्षेत्रस्थित नेपाल–भारत र चीनको त्रीदेशीय सीमाक्षेत्र व्यास गाउँपालिकाको वडा नं १ छाङ्गरु–तिङ्कर अहिले चिसो र सुरक्षाविहीन हुँदा पुरै बस्ती बसाइँसराइका लागि सदरमुकाम खलङ्गा झरिसकेको छ ।
स्थानीय सरकारले कायान्वयन गर्ने केही योजना व्यास गाउँपालिका वडा नं १ को त्यही मावनविहीन बस्तीमा परेको छ तर अहिले स्थानीय मात्र होइन, सुरक्षाकर्मीको उपस्थिति पनि त्यहाँ छैन । भारत र चीनका तर्फबाट सीमाक्षेत्रमा पर्याप्त कडाइका साथ सुरक्षाकर्मीको उपस्थिति हुँदा पनि नेपालका प्रहरी भने स्थानीवासीसँगै व्यासकै वडा नं २ दुम्लिङ झरेपछि छाङ्गरु र तिङ्कर सुरक्षाविहीन भएको हो ।
समुद्री सतहबाट १२ हजार फिट उचाइमा रहेको तिङ्करमा ६५ तथा छाङ्गरुमा १०५ घरधुरीको बसोबास छ । उनीहरु अहिले सदरमुकाम खलङ्गामा बसाइँ सरेकाले यहाँ अहिले सुनसान छ । गाउँ पूरै हिउँले पुरिएको छ । गाउँको सुरक्षा हिमपात र भगवान् भरोसामा छोडिएको छ, व्यास–१ तिङ्करका अगुवा महिला यशोदा तिङ्करीले भन्नुभयो, “हाम्रो सुरक्षाकर्मी भनेकै हिउँ हो, अत्यधिक चिसोका कारण सबै बसाइँ सारेपछि गाउँ पूरै भगवान् भरोसा चलेको छ ।”
छिमेकी राष्ट्र भारत र चीन युद्ध हुँदादेखि नै अर्थात् २०२८ सालबाटै उनीहरुको सुरक्षाफौज त्यही रहँदै आएको छ । हाम्रोतिर भने मानवविहीन हुँदा पनि राज्यले सुरक्षा दिन नसकेको तिङ्करीले भनाई थियो । साविकको पूरैै गाविस तथा अहिलेको पूरै वडा भएको ठाउँमा सुरक्षा उपस्थिति छैन । झण्डै बासिन्दा एक हजार उक्त क्षेत्रमा बसोबास गर्दै आएका छन् ।
विसं २०३१ भदौमा खम्पा विद्रोह हुँदा उक्त क्षेत्रमा भारतले केही सुरक्षाफौज थप गर्नाका साथै आइटीबिपी (इन्डिया तिब्बत बोर्डर पुलिस) परिचालन गर्दै आएको छ । हाल सीमावर्ती बजार धार्चुलादेखि कालापानीसम्म आइटिबिपीका एक ठाउँमा हतियार भण्डारसहित पाँच पोष्ट राखिएका छन् । भारतीय बजार धार्चुलादेखि लिपुलेकसम्मको झण्डै ५० किलोमिटर क्षेत्रमा पाँच क्याम्प छन् । आइटिबीपीले घट्टबगरमा हतियार भण्डारसहितको क्याम्प राखेको छ भने गव्र्याङ, छ्यालेक, गुन्जीमा क्याम्प तथा कालापानीमा सेना परिचालन गरिएको छ ।
नेपालतर्फ भने दार्चुलाको उत्तरमा एउटा मात्र तिङ्कर नाका छ, त्यसमा पनि वर्षको छ महीनामात्रै सुरक्षाफौज खटिन्छन् । सीमा प्रहरी चौकीमा छ महीना मात्रै प्रहरी बस्छन् । प्रतिकूल मौसमका कारण छ महीना तिङ्करमा प्रहरी राख्न सकिँदैन, दार्चुलाका निमित्त प्रहरी प्रमुख हिक्मत बोहराले भन्नुभयो, “व्यासीका बासिन्दा कुञ्चा सरेसँगै हाम्रो प्रहरी पनि वडा नं २ दुम्लिङ आएर बसेको छ । सामान्य अवस्थामा तिङ्करमा बस्न नसकिने र उच्च भूभाग तथा हिमपातमा बस्ने बन्दोबस्त नेपाल सरकारले गर्न नसक्दा सीमालाई छ महीना खुला छोड्नुपर्ने बाध्यता प्रहरीमा छ ।”
स्थानीय सरकारले पनि योजनाहरु अहिले सदरमुकाम खलङ्गामै गर्नुबाहेक अरु काम गर्न सकेको छैन । वडा नं १ का वडाअध्यक्ष अशोक बोहराले भन्नुभयो “काम गर्ने स्थानीयका सबै कार्यालय खलङ्गामै छ, अहिले योजना सम्झौताको काम चलिरहेको छ । वडा तहबाटै मात्रै सो वडामा रु ५० लाख बजेट विनियोजन गरिएको छ ।
“काम गर्ने जनशक्ति छैन, काम स्थानीयवासी कुञ्चामा सरेपछि मात्रै काम हुन्छ”, उहाँले भन्नुभयो, “गत वर्ष साउनसम्म काम गराइयो । अहिले व्यासको कालापानीसम्म जाने बाटो निर्माण गर्ने स्थानीय सरकारको योजना छ तर काम गर्ने जनशक्ति नहुँदा समस्या छ ।”
अहिले पनि व्यासीबासी गाउँ आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्न बाध्य छन् । आफ्नो भूमि जान भारतीय बाटो प्रयोग गर्नुपर्दा व्यासीहरु जहिल्यै निराश हुने गरेका छन् । तिङ्करमा सुरक्षा संयन्त्रको उपस्थिति बाह्रै महीना अनिवार्य रहे पनि पु¥याउन सकिएको छैन । सरकारले सीमाक्षेत्रका लागि सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट (बिओपी) राख्ने तयारी थालेको छ । नेपाल सरकारले सशस्त्र प्रहरी राख्ने निर्णय गरेकाले प्रक्रियागत रूपमा काम अघि बढाउने तयारी सुरक्षा निकायले गरेको छ । सशस्त्र प्रहरी दार्चुलाका प्रमुख भीमबहादुर चन्दले अहिले नै बिओपी राख्ने बारेमा तयारी नभएको जानकारी दिनुभयो । (रासस)