आरम्भ नाट्य डबलीको वर्षगाँठ
२६ पुस, धरान । रङ्गमञ्चलाई जीवन्त राख्न गठन भएको आरम्भ नाट्य डबलीले आफ्नो स्थापनाको ३०औँ वर्षगाँठ विविध कार्यक्रम गरी मनाएको छ । सो अवसरमा वास्तविकतामा आधारित लघु नाटक ‘यातनाको अन्त्य’ प्रदर्शन गरिएको थियो ।
विसं २०३६ मा धनुषाको जतुवामा दुई क्रान्तिकारी योद्धालाई तत्कालिन सत्ताले गोली हानी मारेको घटनालाई समेटेर नाटक प्रदर्शन गरिएको थियो । नाटकमा डिएसपीको भूमिकामा कलाकार शान्तिराम राई, उनको श्रीमतीको भूमिकामा शारदा श्रेष्ठ, नोकर रामेको भूमिकामा कमानसिंह याम्फु र क्रान्तिकारीको भूमिकामा प्रेम नेपालीले अभिनय गरेका थिए ।
रङ्गमञ्चलाई जीवन्तता दिँदै पुस्तान्तरण गर्ने उद्देश्यले धरानका विभिन्न स्थानमा सडक बालबालिकालाई लक्षित गरी विभिन्न निजी तथा सामुदायिक विद्यालयलाई प्रशिक्षण दिई त्यहाँका बालकलाकारद्वारा अभिनित नाटक प्रदर्शन गरिएको क्लबका अध्यक्ष गोपाल देवानले जानकारी दिनुभयो । हालसम्म ३० भन्दा बढी बालकलाकार उत्पादन भएका छन् भने तीमध्ये अहिले पनि अभिनयमा व्यस्त रहेको आरम्भका अध्यक्ष देवानले बताउनुभयो ।
सोही अवसरमा पत्रकार दिनेश गजमेरलाई प्राश्नाभक्ता रङ्गमञ्च पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको थियो । उहाँलाई कार्यक्रमका प्रमुख अतिथि भाषाविद् प्रा. डा. टङ्क न्यौपाने, आरम्भका अध्यक्ष देवानलगायतले रु ११ हजार १११ नगदसहित सम्मान गर्नुभएको थियो । (रासस)