अष्ट्रेलियाकोे ‘फ्लूड आर्ट’
१७ पुस, काठमाडौँ । चित्रकार रुमिना मैनालीलाई चहकिलो रङसँग चित्र कोर्न मन पर्छ । रङसँगै विशेष खालको रसायनको सहायताले चित्र बनाउन पारङ्गत काठमाडौँ निवासी उहाँले दुई वर्ष अष्ट्रेलिया बसेर ३२ चित्र बनाउनुभयो । फरक विधाको चित्रकलामा रुचि राख्ने उहाँका ती चित्र अहिले काठमाडौँको अरुपण आर्ट ग्यालरीमा प्रदर्शनका लागि राखिएको छ ।
रङ्गमा रसायन मिसिएपछि उठ्ने फोकालाई काल्पनिकरूपले चित्रमा उतार्नु सामान्य होइन । त्यही असामान्य खालका अमूर्तकलालाई उहाँले क्यान्भासमा उतार्नुभएको हो । एक्रेलिक रङलाई अन्य रसायनसँग मिसाएर बनाइएका उहाँका अमूर्त चित्रमा कतै समुन्द्र देखिन्छ भने कतै सुन्दर हरियाली पहाड, कतै खोल्सी त कतै सुन्दर फाँटका गह्राको अनुभूति हुन्छ । अमूर्तभित्र पनि मूर्त तस्वीर चित्रमा झल्किएको पाइन्छ ।
“यसमा अमूर्तसँगै केही बिम्व पनि मिसाउन सकिने क्षमता प्रदर्शन गर्न सकिन्छ, केही फरक गरौँ भनेर यस्ता चित्र बनाएकी हुँ ।” रुमिनाले भन्नुभयो । नेपालमा विकसित नभइसकेको चित्रकलामा ‘फ्लूड अब्स्ट्रयाक’ विधा अपनाउनु भएकी उहाँले ती चित्र बनेपछि आफूलाई फरक–फरक सन्तुष्ठी मिल्ने बताउनुभयो । बुबा रमेश खनालले बनाएको चित्रबाटै प्रेरित भएर आफूले पनि चित्र कोर्न थालेको रुमिनाले बताउनुभयो । चहकिलो रङसँग खेल्न मन पराउने रुमिना रङहरुलाई खुशी र रमाइलोको प्रतीक सम्झनुहुन्छ । अष्ट्रेलिया बसाइमा अनलाइन अध्ययनका साथै त्यहाँका सङ्ग्रहालयको अवलोकन र चित्रकारसँगको सम्पर्कमा यस्तो कला सिकेको उहाँले बताउनुभयो ।
‘फ्लूड अब्स्ट्रयाक’ विधाका चित्रका लागि नेपालमा रङ त पाइन्छ तर रसायन नपाइने भएकाले नेपालमा बसेर यसलाई निरन्तरता दिन कठिन छ । अष्ट्रेलियामा आफ्नै पेन्टिङ स्टुडियोमा काम गर्दै आउनुभएकी रुमिनाले नेपालको तुलनामा अष्ट्रेलियामा चित्रमा प्रतिस्पर्धा बढी हुने भए पनि बजार राम्रो हुने बताउनुभयो । विगत दुई वर्षको प्रयासमा तयार भएका ३२ चित्र अहिले उक्त ग्यालरीमा प्रदर्शनीका लागि राखिएको छ ।
यो उहाँको तेस्रो चित्रकला प्रदर्शनी हो । सन् २००६ मा ‘इम्प्रेसन एफ्ट पिकासो’ नामको एकल चित्रकला र सन् २०१३ मा ‘क्रियशन’ नामको दोस्रो चित्रकला प्रदर्शनी भएको थियो । सानैदेखि नवीन चित्रकलामा रम्ने रुमिनको चित्र फरक खालको रहेको कला समिक्षकसमेत रहनुभएका उहाँका बुबा रमेश खनालले बताउनुभयो ।
“क्यानभास एउटा यस्तो ठाउँ हो, जसमा हामी सधैँ नयाँ कला सिर्जना गर्छौं, यस प्रदर्शनीमा मैले फ्लूड रङ्मा अर्मूत शैलीबाट खेलाएको छु, रङ र प्रविधिको सहायताबाट चित्रमा टेक्चर, बबल्सहरु उर्बर भएको देख्नुहुने छ ।” अष्ट्रेलियाबाट स्काइपमा भएको कुराकानीमा रुमिनाले भन्नुभयो, “क्यानभासमा रङहरु जब बग्न थाल्छन् तब कल्पनाहरू सीमा नाघेर बिना कठिनाइ यत्रतत्र आकार खोज्दै दौडिन्छ, अनि मेरा चित्रले आकार ग्रहण गर्छ ।”
उहाँका चित्रमा कतै नीलो, कतै हरियो, कतै गुलाबी त कतै बैजनी रङको संयोजनमा थरिथरिका अमूर्तचित्र भित्र मौलिकता तिखारिएको पाइन्छ । तरलता, बहाब, लयात्मकपन र गतिशीलपन रुमिनाका चित्रका विशेषता भएको कला समीक्षक यमप्रसाद शर्माले बताउनुभयो । (रासस)