\
राष्ट्रिय समाचारसमाचार

पाल्पामा घरेलु उद्योग खुल्ने क्रम बढ्दै

१२ पुस, बेझाड । पाल्पामा पछिल्लो समय घरेलु तथा साना उद्योग खुल्ने क्रम बढ्दो छ । जिल्लामा उत्पादनमूलक, कृषि तथा वन्यजन्तुमूलक, पर्यटनमूलक र सेवामूलक गरी चार प्रकारका उद्योग रहेका छन् ।

हालसम्म उत्पादनमूलकतर्फ ४७३, कृषि तथा वन्यजन्तुमूलकतर्फ ३७९, पर्यटनमूलकतर्फ ६२१ र सेवामूलकतर्फ ९१८ उद्योग दर्ता भई सञ्चालनमा आएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका सूचना अधिकारी मनोज घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार आव ०७५/७६ को साउनबाट मङ्सिर मसान्तसम्म उत्पादनमूलक १७, कृषि तथा वन्यजन्तुमूलक २६, पर्यटनमूलक ६७ र सेवामूलक ५४ वटा नयाँ उद्योग थपिएका छन् ।

गत वर्ष उत्पादनमूलक ४८, कृषि तथा वन्यजन्तुमूलक ७८, पर्यटनमूलक १०५ र सेवामूलक ८३ वटा घरेलु उद्योग दर्ता भएका थिए । जिल्लामा पछिल्लो समय महिलाको नाममा पनि उद्योग दर्ता हुने क्रम बढेको छ । गत वर्ष ६७ वटा घरेलु उद्योग महिलाको नाममा दर्ता भई सञ्चालनमा छन् । सधैँ अर्काको परनिर्भरतामा रहेका यहाँका महिला हिजोआज घरेलु उद्योग सञ्चालन गरेर आत्मनिर्भरतातर्फ उन्मुख हुँदै गएका छन् ।

गत वर्ष उद्योग दर्ता तथा नवीकरणबाट रु नौ लाख ४१ हजार ३१५ राजश्व सङ्कलन भएको छ । जिल्लामा न्यूनतम एक लाखदेखि एक करोड ५० लाखसम्मका मात्र उद्योग दर्ता भई सञ्चालनमा आएको कार्यालयका उद्योग अधिकृत बालकृष्ण गैरेले बताउनुभयो । “घरेलु उद्योग दर्ता गर्ने क्रम बढ्दै जाँदा जिल्लामा धेरैलाई रोजगारीको अवसर मिलेको र यहाँ साना उद्योग मात्र दर्ता भई सञ्चालित छन्”, उहाँले भन्नुभयो ।

कार्यालयले लघु, घरेलु तथा साना उद्योग मात्र दर्ता गर्न पाउने अधिकार रहेको उद्योग अधिकृत गैरे बताउनुहुन्छ । दश करोडसम्म पूँजी भएका उद्योगलाई साना उद्योग, दश करोडदेखि २५ करोडसम्म पूँजी भएका उद्योगलाई मझौला उद्योग र २५ करोडदेखि माथिका उद्योगलाई ठूला उद्योगका रुपमा वर्गीकरण गरिएको छ ।

दश करोडमाथिका उद्योग विभागमा पुगेर दर्ता गर्नुपर्ने प्रावधान छ । जिल्लामा एक करोड ५० लाखसम्मका दुई तीन वटा उद्योग मात्र सञ्चालनमा छन् भने सरदरमा ६० लाखसम्मका उद्योग ठूला उद्योगका रूपमा चिनिने गरेका छन् । उद्योग नवीकरणका लागि तोकिएको म्याद सकिएको ३५ दिनभित्र गरे जरिवाना नलाग्ने, ३५ दिनदेखि तीन महीनासम्म दोब्बर शुल्कमा, तीन महीनादेखि एक वर्षभित्रमा तेब्बर शुल्क लिएर नवीकरण गर्दै आएको कार्यालयले जनाएको छ ।

नवीकरणका लागि एक वर्ष म्याद नाघिसकेपछि मन्त्रालयबाट नियमबमोजिम मात्र नवीकरण गर्ने व्यवस्था रहेको छ । जिल्लामा उद्योगहरू दिनानुदिन थपिँदै जाँदा धेरैलाई रोजगारीको पनि अवसर मिलेको छ । जिल्लाको सदरमुकाम तानसेनमा मात्र नभई गाउँगाउँमा पनि विभिन्न उद्योग, व्यवसाय सञ्चालन हुने क्रम बिस्तारै बढ्दै गएको पाइएको छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्रका रूपमा रहेको रामपुर नगरपालिकाभित्र पनि पछिल्लो समय उद्योग खुल्ने क्रम बढ्दो । (रासस)

Leave a Reply