\
राष्ट्रिय समाचारसमाचार

विपन्न बालबालिकालाई न्यानो कपडा

२७ मङ्सिर, दुल्लु । दैलेखको नारायण नगरपालिका–८ स्थित सरस्वती माविमा अध्ययनरत ६८ बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । संयुक्त राज्य अमेरिकामा बस्दै आउनुभएकी समाजसेवी जयन्तीकुमारी थापाको आर्थिक सहयोगमा आर्थिकरूपमा विपन्न तथा सहाराविहीन बालबालिकालाई न्यानो कपडा (स्वेटर) वितरण गरिएको हो ।

सरस्वती माविमा कक्षा १ देखि ५ सम्म अध्ययनरत बालबालिकालाई न्यानो कपडा अमेरिका निवासी समाजसेवी थापाले उपलब्ध गराएको सोही विद्यालयका सहायक प्रधानाध्यापक लोकेन्द्र जिसीले बताउनुभयो । चिसोका कारण बालबालिका बिरामी पर्नसक्ने भन्दै न्यानो कपडा प्रदान गरिएको सहायक प्रधानाध्यापक जिसीको भनाइ छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य पार्वतीकुमारी बिसुन्केले आर्थिकरूपमा विपन्न बालबालिकालाई चिसो मौसममा न्यानो कपडा वितरण गर्दा बालबालिकाको विद्यालयमा नियमितता हुने र उनीहरूका लागि ठूलो सहयोग भएको बताउनुभयो । “आर्थिक रूपमा विपन्न र सहाराविहीन बालबालिकालाई सहयोग गर्नु हामी सबैको दायित्व हो”, उहाँले भन्नुभयो, “अमेरिकामा बस्दै आउनुभएकी समाजसेवी थापाले गरेको सहयोगले विपन्न र सहाराविहीन बालबालिकालाई ठूलो सहयोग पुगेको छ ।” जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख खगेन्द्रबहादुर मल्लले बालबालिकाको शैक्षिक अवस्था सुधारका लागि अभिभावकको पनि महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले विपन्न तथा गरीबीको रेखामुनि रहेका बालबालिकालाई सहयोग गर्नु सबैको दायित्व रहेको उल्लेख गर्नुभयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष भुपालबहादुर थापाका अनुसार समाजसेवी थापाले हालसम्म दैलेख, सुर्खेत, रुकुम, जाजरकोट र कैलाली जिल्लामा सहयोग गर्दै आउनुभएको छ । समाजसेवी थापाको सहयोगमा सुर्खेत, रुकुम र जाजरकोटका २० विपन्न बालबालिकालाई छात्रवृत्ति, सुर्खेतका दुई विद्यालयमा रु एक लाखको अक्षयकोष स्थापना भइसकेको छ ।

त्यसका साथै सुर्खेतको अमरज्योति माविमा रु तीन लाखको अक्षयकोष स्थापना, क्यान्सर, पक्षघात, बहिरा तथा दृष्टिविहीन बालबालिकालाई आर्थिक सहयोग र छात्रवृत्ति उपलब्ध भएको छ । वृद्धवृद्धालाई सहयोग तथा रुकुम जिल्लामा सरसफाइ अभियानका लागि सहयोग पनि समाजसेवी थापाले उपलब्ध गराउँदै आउनुभएको छ । जिसीका अनुसार समाजसेवी थापाले दैलेखका सरस्वती माविसँगै अन्य तीन विद्यालयमा शैक्षिक सामग्री, छात्रवृत्ति तथा न्यानो कपडा यसअघि वितरण गरिएको थियो । समाजसेवी थापाले कैलाली जिल्लाका मानसिक रोगबाट पीडित बालबालिकालाई आर्थिक सहयोग र शैक्षिक सामग्री वितरण तथा उपचारमा समेत सहयोग गर्दै आउनुभएको छ । (रासस)

Leave a Reply