\
राष्ट्रिय समाचारसमाचार

बीउ पूँजी अनुदान प्रदान

१९ मङ्सिर, मङ्गलबारे । अपाङ्गता भएका व्यक्तिलाई व्यवसायतर्फ उन्मुख गराउने उद्देश्यले इलामको फाकफोकथुम गाउँपालिकाका दुई वडामा स्वावलम्बन समूहलाई एक/एक लाख रुपैयाँका दरले बीउ पूँजी अनुदान प्रदान गरिएको छ ।

गाउँपालिका र करूणा फाउण्डेसन नेपालको संयुक्त साझेदारीमा सञ्चालित हेरचाहका लागि उत्प्रेरणा परियोजनाअन्तर्गत फाकफोकथुम वडा नं १ र २ का अपाङ्गता भएका व्यक्तिलाई उक्त बीउ पूँजी प्रदान गरिएको हो ।

अपाङ्गता भएका व्यक्ति आवद्ध रहेको संस्था स्वावलम्बन समूहलाई उक्त बीउ पूँजी प्रदान गरिएको करूणा फाउण्डेसन नेपालका कार्यक्रम अधिकृत प्रदीप अधिकारीले जानकारी दिनुभयो । उक्त बीउ पूँजीले अपाङ्गता भएका व्यक्तिको जीवनस्तरमा परिवर्तन ल्याउने समेत उहाँले बताउनुभयो ।

दुई वडामा करीब १५० जना अपाङ्गता भएका व्यक्ति रहेका छन् । उक्त पूँजी परिचालन गरी उनीहरूको आयस्तरमा परिवर्तन ल्याउने मुख्य उद्देश्य रहेको अधिकारी बताउनुहुन्छ । ‘‘यो बीउ पूँजी हामीले उनीहरूका लागि व्यवसाय सञ्चालन तथा व्यावसायिक बनाउन दिएका हौं, यसलाई मास्न पाइदैन्, बढाउँदै लैजाँदा उनीहरूकै लागि हो’’ उहाँले भन्नुभयो, “यस्ता खालको पूँजी जिल्लाका धेरै ठाउँमा दिएका छौं, यसबाट अपाङ्गता भएका व्यक्तिको जीवनस्तरमा परिवर्तन आएको छ ।”

बीउ पूँजीबाट ऋण लिएर अपाङ्गता भएका व्यक्तिले बाख्रापालन, बङ्गुरपालन, तरकारीखेती, गाईपालन तथा किराना पसल सञ्चालन गर्दै आएका छन् । उक्त परियोजनामार्फत जिल्लाका ८१ वटै वडामा बीउ पूँजी लगानी गरिएको करूणा फाउण्डेशनले जनाएको छ ।

Leave a Reply