\
राष्ट्रिय समाचारसमाचार

सफल जैविक कृषक बन्नुभयो गोविन्द

१८ मङ्सिर, दाङ । तुलसीपुर उपमहानगरपालिका–५ तुलसीपुरका ५८ वर्षीय गोविन्दप्रसाद बस्याल व्यावसायिकरुपमा अर्गानिक तरिकाले केरा तथा तरकारीखेती गरेर आफूलाई सफल कृषकका रुपमा चिनाउनु भएको छ ।

चार वर्ष पहिलेदेखि सो पेशा अङ्गाल्नु भएका बस्यालले अर्गानिक तरिकाले केरा तथा तरकारीखेती गरेर अहिले पाँच जनालाई रोजगारी दिनु साथै वार्षिक रु पाँच लाख बचत गर्न सफल हुनु भएको छ ।

त्यतिकैै खाली रहेको राप्ती अञ्चल अस्पतालको पाँच बिगा जमीन भाडामा लिएर उहाँले अर्गानिक तरिकाले केरा तथा तरकारीखेती गर्नुभएको हो । सो जग्गा प्रयोग गरेबापत उहाँले अस्पताललाई वार्षिक रु ६० हजार भाडा तिर्दै आउनु भएको छ ।

उहाँले अहिले तीन बिगाहा जमीनमा केराखेती र बाँकी दुई बिगाहा जमीनमा केराखेतीसहित घुसुवा बालीको रुपमा प्याज, लसुन, अदुवा, आलु, साग, बन्दागोभीलगायतका तरकारी लगाउनुभएको छ ।

तरकारी तथा केराखेती गर्ने ठाउँ वरपरमा आँपका ठूलाठूला पुराना रुख पनि रहेका छन् । ती रुखबाट खस्ने पात, तरकारी गोडमेल गर्दा निस्कने झारपातलाई कुहाएर त्यसमा गाई, गोरुको मल मिसाई तरकारीमा प्रयोग गरी खेती गर्ने गर्नुभएको छ ।

उहाँले मलको लागि नै उन्नत जातका गाई पनि पालन गर्नुभएको छ । शुरुमा त्यस्तो खुला तथा सुख्खा ठाउँमा उहाँले गर्नुभएको तरकारी खेती गर्न खोजेको देखेर कसरी उत्पादन होला र ! भन्ने गाउँका धेरैलाई विश्वास थिएन । कतिपयले त उहाँलाई गोविन्द बौलाए भनेर पनि खिस्याउने गरेका थिए ।

गोविन्दले भन्नुभयो, “ती कुरालाई वास्तै गरिन शुरुका दुई वर्षमा त उत्पादन थोरै भयो खुल्ला ठाउँ भएकाले रातको समयमा केही चोरी पनि भयो । अहिले त्यस्तो छैन । नजिकै कच्ची घर बनाएर बसेको छु । अहिले सोचेको भन्दा बढी उत्पादन भएको छ ।”

उहाँले आफूले उत्पादन गर्ने तरकारी तथा केरामा कुनै पनि विषादी प्रयोग नभएकाले बजार राम्रो पाएको बताउनुभयो । उहाँको बारीमा अहिले केही तयारी अवस्थाका केरा छन्, भने केही भर्खरै रोपिएका छन् ।

गोविन्दले उत्पादन गरेको केरा तथा तरकारी किन्न धेरै ग्राहक बोटमा नै पुग्ने गरेका छन् भने केही उत्पादनलाई उहाँले साइकलमा राखेर तुलसीपुर बजारका विभिन्न चोक चोकमा लगेर बिक्री गर्नेुहुन्छ । त्यहाँ उत्पादन हुने केराको मूल्य फुटकरमा प्रतिकिलो रु १०० तरकारी अहिले मौसमअनुसार तोक्नुहुन्छ । अहिले भने प्रतिकिलो रु ५० देखि ३० सम्म बिक्री गर्ने गरेको बस्यालले बताउनुभयो ।

तुलसीपुर बजारको नजिकै भएकाले पनि धेरै नागरिकको रोजाइ उहाँले उत्पादन गर्ने केरा तथा तरकारी हुने गरेको छ तुलसीपुर उपमहानगरपालिका–५ तुलसीपुरकी ४० वर्षीया नीरा योगीले तरकारी किन्नका लागि नै आफू यहाँ आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँ उत्पादन हुने तरकारीमा विषादी नहुने भएकाले अलिकति महङ्गो भए पनि सधैँ यहाँ नै आएर किन्ने गरेकी छु ।” तुलसीपुर उपमहानगरपालिका–६ रजौरा टोलकी पूर्णिमा चौधरी पनि बजारमा केरा किन्न छाडेर यहीँ आउने गर्नुहुन्छ । रासायनिक पदार्थ हालेर पकाएको केराको गुणस्तरभन्दा यहाँ पकाएको केरा स्वादिलो हुनुको साथै स्वस्थवद्र्धक रहेकाले आफूले यहीँको केरा किन्ने गरेको बताउनुहुन्छ । (रासस)

Leave a Reply