पाँच सय किसान व्यावसायिक मौरीपालक बन्दै
११ मङ्सिर, पशुपतिनगर । परम्परागत रुपमा मौरीपालन हुँदै आएको इलामको रोङ गाउँपालिकामा व्यवसायीकरणका लागि मौरी विकास शाखा स्थापना भएको छ ।
कृषि विकास शाखाबाटै कार्यक्रम कार्यान्वयन हुनेगरी गाउँपालिकाले मौरी विकास शाखा स्थापना गरी व्यावसायिक मौरीपालनको काम शुरु भएको हो । स्थानीय तहमा मौरी संरक्षण र प्रवद्र्धन शुरु गरेको गाउँपालिकाले पाँच वर्षमा पाँच सय किसानलाई व्यावसायिक मौरीपालक बनाउने योजना रहेको गाउँपालिकाका अध्यक्ष समसेर राईले बाउनुभयो ।
“आर्थिक वर्ष २०७४/७५ मा पाँच लाख बजेट विनियोजन गरी मौरी स्रोत केन्द्रको स्थापना समेत भएको छ ”, उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षको २० लाख बजेटले सबै वडाका किसानलाई व्यावसायिक मौरीपालनको तालीम प्रदान गरिनेछ ।” पाँच वर्षसम्म गाउँपालिकाले लगानी गर्ने त्यसपछि मौरी शाखाले स्थापना गरेको मौरीको घार, मह बिक्रीबाट वार्षिक कार्यक्रम सञ्चालनका लागि स्रोत जुटाउने योजना रहेको अध्यक्ष राईले बताउनुभयो ।
शाखालाई आत्मनिर्भर बनाउन देशभर मौरी र मह आपूर्ति गर्ने योजनासहित गाउँपालिकाले काम शुरु गरेको हो । विषादी प्रयोग घटाएर अर्गानिक गाउँपालिका बनाउने र मौरीस्रोत केन्द्र स्थापनासहित किसानलाई तालीम र मौरीका घार वितरण शुरु गरेको कार्यक्रम संयोजक कुमार मोक्तानले बताउनुभयो ।
मौरी लघु उद्यम कार्यक्रममार्फत चालु आर्थिक वर्षमा ६० जनाले तालीम पाउनेछन् । तालीम पश्चात ३० किसानलाई मौरीका घार र आवश्यक सामग्री अनुदानमा सहयोग गर्ने कार्यक्रम छ । पाँचवटासम्म घार भएका किसानलाई शुरुमा ५० प्रतिशत र अनुगमनका क्रममा प्रगति देखिएमा ७५ देखि १०० प्रतिशतसम्म अनुदान दिने योजना छ ।
कार्यक्रम शुरु भएसँगै गाउँपालिका कृषकले मौरीपालनमा निकै चासो दिएका छन् । मौरी नपालेका किसानले घार झुण्ड्याउन थालेका छन् । गतवर्ष स्थापित मौरी स्रोत केन्द्रले मह सङ्कलन र बजारीकरणको काम गरिरहेको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । उहाँले भन्नुभयो, “शुद्ध महको माग बढिरहेको अवस्थामा यो कार्यक्रम प्रभावकारी रहेको र जनताले समेत रुचाएका छन् ।”
कार्यक्रमअन्तर्गत शुद्ध मह उत्पादन, मौरीको स्याहार र महको उत्पादन बढाउने विषयमा किसानलाई प्राविधिक सहयोग गर्ने र पाँच वर्षपछि मौरी स्रोत केन्द्र आफै आत्मनिर्भर रहनेछ ।
मौरीपालनको पकेटक्षेत्र मानिएको गाउँपालिकाको वडा नं– ६ स्थित जिर्मलेसहित सम्भावना रहेका सबै वडामा यस वर्ष तालीम र सामग्री वितरण गर्न २० लाख बजेट विनियोजन गरेको वडा नं– ३ का अध्यक्ष मात्रिका बरालले बताउनुभयो । स्रोत केन्द्र स्थापना भएपछि इलाम आउने पर्यटकका लागि नयाँ कोसेली र गन्तव्य थपिने बरालले बताउनुभयो । लामो समयसम्म मौरीपालन गर्दै आएका कुमार मोक्तानका अनुसार मौरी संरक्षण र प्रवद्र्धन गर्न स्थानीय तहले गरेको प्रयास इलामका लागि नै पहिलो रहेको छ । नेपाल सरकारले पनि स्रोत केन्द्रको संरक्षण गर्न चासो देखाउनुपर्ने मोक्तानले बताउनुभयो ।
गाउँपालिकाको योजनापछि इलामका कृषक मौरीपालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । घरमै आधुनिक घारमा मौरी पालेर राम्रो आम्दानी हुन थालेपछि कृषक मौरीपालनतर्फ आकर्षित भएका हुन् । इलामको रोङ, माइजोगमाई, सूर्योदयका तत्लो भागमा मौरीपालन हुने गरेको छ । सरकारी तथ्याङ्कअनुसार इलामका एक हजार ६०० कृषकले मौरीपालन गरेका छन् । त्यसमध्ये रोङ गाउँपालिकको जिर्मलेमा मात्र पाँच सय किसानले मौरीपालन गर्दै आएका छन् । इलाममा वार्षिक २२ मेट्रिक टन मह उत्पादन हुँदै आएको छ । (रासस)