‘उसागी’ आँधीबाट एकको मृत्यु
१० मङ्सिर, होचिमिन्ह सिटी । भियतनामको दक्षिण शहरमा आएको उसागी नामक आँधीपछि गएको भूस्खलनमा परी एक व्यक्तिको मृत्यु भएको छ ।
यस प्रकोपको कारण कैयौं घर, डुङ्गा र सडकहरु क्षतिग्रस्त भएको कृषि तथा ग्रामीण विकास मन्त्रालयले सोमबार जानकारी दिएको छ ।
दक्षिण क्षेत्रमा आइतबार शुरु भएको यस प्रकोपमा रिया भुङ ताग र बेन ट्रे प्रान्त प्रभावित भएको छ । आँधीबाट होचिमिन्ह सिटीमा मोटसाइकल चालक एक व्यक्तिको मृत्यु भएको छ ।
यस आँधीबाट ५१ घर, ४६ डुङ्गा, ७१८ हेक्टर धानबाली, तीनसय ८० हेक्टर अन्य बाली र १.५ किलोमिटर राष्ट्रिय सडक क्षतिग्रस्त भएको छ । भारी वर्ष र बाढीपछि होचिमिन्ह सिटी र निन्ह थुआन प्रान्तका प्रायः विद्यालयहरु सोमबार बन्द गरिएका छन् ।
सन् २०१७ मा भियतनाममा आएको आँधीका कारण तीनसय ८६ व्यक्तिको मृत्यु हुनुको साथै ६ लाखभन्दा बढी घरहरु क्षतिग्रस्त भएको थियो । त्यसैगरी यस आँधीमा परी २ अर्ब ६० करोड डलर बराबरको नोक्सानी भएको थियो । (रासस/सिन्ह्वा)