ल्होर्पवासीको आवतजावतमा समस्या
६ मङ्सिर, सुर्खेत । जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेकमा अवस्थित पातारासी गाउँपालिका–५ ल्होर्प गाउँवासीलाई आवतजावतमा निकै समस्या भएको छ ।
गत साउनमा गएको पहिरोले अवरुद्ध भएको सडक आजसम्म पनि नखुल्दा ल्होर्प गाउँवासीको आवतजावतमा समस्या भएको हो । सो गाउँ जान जवा नदीमाथि हालिएको झोलुङ्गे पुल नजीक बढिखोली भन्ने ठाउँमा पहिरो जाँदा त्यहाँबाट वारपार गर्ने बाटो पूर्णरुपले बन्द भएको स्थानीयवासी कृष्णबहादुर बोहोराले राससलाई जानकारी दिनुभयो ।
“अहिलेसम्म अवरुद्ध सडकको पहिरो हटाइएको छैन,” रासससँग कुरा गर्दै बोहोराले भन्नुभयो, “पहिरो नपन्छाउँदा गोरेटो जस्तो बाटोमा निकै जोखिम मोलेर हिँड्नुपर्छ ।” आवतजावतको विकल्पका रुपमा जवा नदीमाथि रु २० लाखको अस्थायी काठेपुल निर्माण गरिए पनि पुलसम्म पुग्ने बाटो कठिन रहेको उहाँले बताउनुभयो । गाउँपालिकालाई पहिरो पन्छाई दिन अनुरोध गरे पनि सुनुवाइ नगरेको उहाँको गुनासो छ । पहिरोले सडक तथा बाटो लथालिङ्ग भएको स्थानीयवासी मुनवीर बोहोराले जनाउनुभयो । रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “झोलुङ्गे पुल छ तर त्यस नजीक गएको पहिरो नहटाउँदा त्यो प्रयोगविहीन भएको छ,” पहिरो हटाउने बजेटले अर्को पुल हालेर दोहोरो खर्च गरिएको उहाँको टिप्पणी थियो ।
ल्होर्पवासीको आवतजावत गर्ने मुख्य सडक बन्द भएपछि अहिले त्यहाँका ४०१ घरधुरीलाई आउन जान समस्या भएको अर्का स्थानीयवासी जयबहादुर बुढाले बताउनुभयो । “डोरेटो बाटोमा आवतजावत गर्न सबैभन्दा ठूलो समस्या अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र बालबालिकालाई छ,” बुढाले भन्नुभयो, “जोखिम बाटोले सधैँ विद्यालय जाने बालबालिका जवा नदीमा खसेर बेपत्ता हुने हुन् कि भन्ने चिन्ताले पिरोल्ने गर्छ ।”
पातारासी गाउँपालिका–५ का वडाध्यक्ष डिलबहादुर बुढाले प्राविधिक लागत अनुमानअनुसार गाउँपालिकाले सो सडक मर्मतका लागि रु ३२ लाख बजेट विनियोजन गरिएको जनाउनुभयो । प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएकाले अब अर्को अधिकृत आउने बित्तिकै तत्काल पहिरो हटाउने काम शुरु हुने उहाँको भनाइ थियो ।