हिरण्यकश्यप नाचप्रति बढ्दो आकर्षण
५ मङ्सिर, काठमाडौँ । काठमाडौँ उपत्यकाको सबैभन्दा लामो नाचका रुपमा प्रसिद्ध पाटनको कात्तिक नाचअन्तर्गत आज हिरण्यकश्यप नाच देखाइएको छ ।
सो नाच हिरण्यकश्यप बध अर्थात् नृसिंह अवतारमा तान्त्रिक विधिमा आधारित हुन्छ । यो नाचमा हिरण्यकश्यप चरित्र साँच्चै बेहोस हुने दृष्य सबैका लागि आकर्षक हुने गरेको छ । कात्तिक डबलीमा अरु दिनकोभन्दा यो दिनमा ठूलो चिराग बाल्ने गरिएको छ । पाँच कुनामा ठूलाठूला चिराग बालेर बीचमा नाच देखाइन्छ ।
हिरण्यकश्यपको होस आउन यति नै समय लाग्छ भन्ने टुङ्गो नहुने तलेजु मन्दिरका पुजारी सञ्जय शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै वर्षमा १५/२० मिनेट त कुनै वर्षमा एक घण्टासमेत लागेको छ ।” दुई दशकदेखि कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकार हिरण्यकश्यपका रुपमा नाच्दै आउनुभएको छ ।
नाचका क्रममा हिरण्यकश्यप बेहोस भएपछि तलेजु मन्दिरका पूजारीले विधिपूर्वक नृसिंह पूजा गर्नुहुन्छ । पुजारी शर्माले भन्नुभयो, “मङ्गलबजारमा रहेको मङ्गल धाराबाट पानी ल्याएर मन्त्र उच्चारणसहित विधिपूर्वक पूजाआजा गरेपछि मात्रै हिरण्यकश्पयको होस खुल्छ ।”
यो नाचलाई दृष्ट हार्ने र सत्य जित्ने दिनका रुपमा पनि लिइने गरिन्छ । हिरण्यकश्यपले भगवान् विष्णुलाई मान्दैनन् तर उनका छोरा प्रह्लाद भने विष्णुभक्त हुन्छन् । हिरण्यकश्यपले जतिभन्दा पनि प्रह्लाद विष्णुको भक्ति गर्न छाड्दैनन् । भगवान् विष्णुले नृसिंह अवतार धारण गरेर हिरण्यकश्यपको बध गराउने कथामा यो नाच आधारित छ । हिरण्यकश्यपको बधपछि नृसिंहलाई शान्त पार्नका लागि अप्सराले नृत्य गर्छिन् ।
अरु नाचका लागि यही दिन गर्नुपर्छ भन्ने यकिन नभए पनि नृसिंह अवतार भने कात्तिक शुक्ल त्रयोदशीकै दिन देखाउनुपर्छ । यो नाच यहि तिथिमा पार्ने गरेर नै यसअघि वा पछि देखाइने नाचको तालिका समितिले बनाउँदै आएको छ ।
अरु नाच कुनै वर्ष एउटा र अर्को वर्षमा अर्को गरेर देखाइन्छ । एक महीनाको नाच अहिले १२ दिन देखाउनुपर्दा सबै नाच एकै वर्ष देखाउन सम्भव नभएको हो । यो नाच भने कुनै पनि वर्ष छुट्याइँदैन । अरु दिनमा भन्दा यो नाचका दिन धेरै आगन्तुक आउने गर्छन । अरु दिनमा झण्डै एक/दुई हजार आगन्तुक आउने गरेकामा यो नाच हेर्न १० हजार आगन्तुक डबलीमा आइपुग्ने गर्छ । यो नाच हेर्न नेपाली मात्रै नभएर विदेशी पर्यटकसमेत डबली आएको बताइएको छ ।
अघिल्ला केही वर्ष जसरी नै यस वर्ष पनि नाच १२ दिनसम्म चल्नेछ । नाचको पहिलो दिन ‘बाःथ प्याखँ’(बाठोको नाच) नाचअन्तर्गत ‘ल्यव लायेगु’(नाठो पक्रनु) र दोस्रो दिन ‘खुशी छिकेगु’(नदी तर्नु) देखाइएको थियो । आज साँझ उषाहरण लीलाअन्तर्गतको ‘वाणासुरयात सहस्रभुज वरदान नाच’ देखाइँदैछ । उषाहरण लीलाअन्तर्गतकै नाच पाँच दिनसम्म चल्छ । ‘उषा व अनिरुद्ध शृङ्गार’(उषा र अनिरुद्धको शृङ्गार) ‘देवी प्याखँ’(देवीनाच) ‘युद्ध कला’ र ‘वाणासुरया सहस्रभुज त्वाल्हाइगु’९वाणासुरको हजार हात काट्नु० नाच यसमा छन् ।
आइतबारसम्म उषाहरण लीलाअन्तर्गतका नाच देखाइएपछि सोमबार ‘मधु–कैटभ बध’ देखाएको छ । मङ्गलबार बराह अवतारको ‘हिरण्याक्ष’ र आज सबैभन्दा धेरै आगन्तुकले रुचाउने नृसिंह अवतारको ‘हिरण्यकश्यप बध’ देखाइने छ । बिहीबार ‘वस्त्रहरण लीला’ र अन्तिम दिनमा ‘दधि लीला’ देखाइने संरक्षण समितिले जनाएको छ ।
यो वर्ष सात वर्षपछि ‘ल्यव लायगु’ र ‘खुसी छिकेगु’ देखाइएको छ । पहिले झण्डै एक महीनासम्म सञ्चालन हुँदा धेरै खालका नाच देखाइने गरिएको समितिका अध्यक्ष किरण चित्रकारले बताउनुभयो ।
विसं २००६ सम्म नाच एक महीनासम्म देखाइन्थ्यो । राजनीतिक परिवर्तनपछि विसं २०३७ सम्म दुई दिनमा सीमित भएको थियो । त्यसपछि नाचको अवधि आठदेखि १० दिन बनाइयो । यो नाच विसं २०७१ देखि १२ दिनसम्म सञ्चालन भइरहेको छ ।
कात्तिक नाचलाई समावेशी नाच मानिन्छ । अरू नाचमा नेवारभित्रको एउटा मात्रै समुदायको सहभागिता हुने गरेकामा यसमा सबैको सहभागिता हुन्छ । नाचमा एउटा पात्रका रुपमा एउटा समुदाय त अर्को पात्रका रुपमा अर्को समुदायको सहभागिता हुन्छ ।
विसं १६९७ मा राजा सिद्धिनरसिंह मल्लले यो नाच शुरु गरेको पाइन्छ । कृष्णका भक्त राजा भएकाले उनले कृष्ण मन्दिर बनाउने र कृष्णलीलामा आधारित नाच शुरु गरेको पुजारी शर्माको भनाइ छ ।