अमोघपास लोकेश्वरको उपोसथ व्रत
३० कात्तिक, काठमाडौँ । प्राणी मात्रको कल्याणको कामना गर्दै काठमाडौँको श्रीखण्डमूल महाविहारमा पहिलो पटक अमोघपाश लोकेश्वरको साधनासहित विशेष पूजा गरिएको छ ।
बुद्ध, धर्म तथा सङ्घको आह्वान गर्दै बुद्ध मण्डल, धर्म मण्डल तथा सङ्घ मण्डलको बज्रयान विधिअनुसार मन्त्रोच्चारणका साथ पूजा गरिएको हो । कश्यप बुद्धको पालादेखि चल्दै आएको विश्वास गरिएको उपोसथ व्रत लिएका व्यक्तिलाई बोधिज्ञान प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता छ ।
अमोघपास लोकेश्वरको कथामा वशिष्ठ नामक एक ब्राम्हणले १०० वर्षसम्म शरीरलाई दुःख हुने गरी कठिन व्रत लिँदा पनि निर्वाण प्राप्त नभए पछि शाक्यमुनि बुद्धसँग प्रश्न राखेका थिए र अमोघपास लोकेश्वरको उपोसथ व्रत लिएमा निर्वाण प्राप्त हुने उपदेश सुनेपछि उनी सन्तुष्ट भएका थिए ।
सो विहारमा आज भएको विशेष पूजामा १४ पुरुष तथा महिलाले अमोघपास लोकेश्वरको उपोसथ व्रत लिएका थिए । रासससँगको सङ्क्षिप्त कुराकानीमा बौद्ध विद्वान मञ्जुश्रीरत्न बज्राचार्यले कश्यप बुद्धको समयदेखि अमोघपास लोकेश्वरको उपोसथ व्रत लिने चलन रहेको धार्मिक विश्वास रहेको बताउनुभयो ।
उहाँले बुद्धधर्ममा प्रज्ञापारमिताको विशेष महत्व रहेको र यसको ज्ञानबाट जन्म मरणको चक्र तोडिने बताउनुभयो ।
उहाँले अमोघपास लोकेश्वरको कथा वाचन गर्नुभएको थियो ।