अफ्रिकी युनियनमा सुधार गर्न नयाँ पहल
२९ कात्तिक, आदिस अबाबा । अफ्रिकी मुलुकहरुको साझा संस्था अफ्रिकी युनियनमा सामयिक सुधार गर्ने उद्देश्य सहित यसै साता अफ्रिकी नेताहरु यहाँ भेला हुँदैछन् । पछिल्ला दिनमा अफ्रिकी युनियनमाथि दाँत नभएको र दातृ निकायमा निर्भर रहेको आरोप लाग्दै आएको छ ।
अर्को वर्षको शुरुदेखि अफ्रिकी युनियनको अध्यक्षता गर्ने इजिप्टले भने सुधारप्रति खासै चासो नदेखाएको विज्ञहरुले औंल्याएका छन् । रुवान्डाका राष्ट्रपति कागामेको विशेष अनुरोध र पहलमा अफ्रिकी युनियनको मुख्यालय रहेको आदिस अबाबामा विशेष सम्मेलन आयोजना गर्न लागिएको हो । कागामे अफ्रिकी युनियनमा व्यापक सुधारको पक्षमा हुनुहुन्छ ।
इन्टरनेसनल क्राइसिस ग्रुप (आइसीजी)का एलिस्सा जबसनले आगामी जनवरीमा एक वर्षे अध्यक्षताको कार्यावधि सकिनुअघि राष्ट्रपति कागामेले युनियनमा सुधारका सम्बन्धमा अन्तिम प्रयत्न गर्न लाग्नुभएको बताउनुभयो । “इजिप्टले सुधारका बारेमा चासो नदिएकोप्रति सर्वत्र चासो दिइएको छ ।”
बाेझिलाे कर्मचारीतन्त्र र अप्रभावकारी निर्णय गर्ने भनी लामो समयदेखि आलोचना खेप्दै आएको अफ्रिकी युनियनले कागामेलाई सुधारका योजना अघि सार्न सन् २०१६ मा जिम्मेवारी दिएको थियो । उहाँको प्रस्तावमा विदेशी सहयोग सकेसम्म नलिने तथा शिखर सम्मेलन र आयोगको संख्या कटौती गर्ने रहेका छन् ।
तर विज्ञहरुका अनुसार दुई वर्ष बितिसक्दा र पाँचवटा अफ्रिकी युनियनको शिखर बैठक बसिसक्दा पनि सुधारका कार्यमा खासै प्रगति हुन सकेको छैन । उनीहरुको भनाइमा यस साता पनि सम्झौता हुने सम्भावना कमै छ ।
“कतिजना सरकार प्रमुखहरु बैठकमा आउँछन् भन्ने हेर्नु पर्दछ, र त्यसले पनि सम्मेलनको सफलता निर्धारण गर्दछ, अर्थात् यसले सुधारका क्षेत्रमा के कस्तो प्रगति हुन्छ भन्ने प्रस्ट गर्नेछ,” लिसेल लाउ–भउद्रानले बताउनुभयो ।
हालसम्म दक्षिण अफ्रिका, जिम्बाबे, बोत्सवाना, कोमोरोस, टोगो र घानाका राष्ट्रपतिले सम्मेलनमा भाग लिने जनाइसक्नु भएको छ । नाइजेरिया र मोजाम्बिकले विदेश मन्त्रीहरुलाई सम्मेलनमा पठाउँदैछ भने अरु राष्ट्रबाट को सहभागी हुन्छ भन्ने खुलेको छैन ।
अफ्रिकी एकता संगठनलाई विघटन गरी सन् २००२ मा गठन भएको अफ्रिकी युनियनमा अफ्रिकाका सबै ५५ मुलुक सदस्य छन् । यो संस्थाको बजेट सन् २०१६ मा ४१ करोड ७० लाख अमेरिकी डलर रहेको थियो ।
अफ्रिकी युनियनले अफ्रिकामा बारम्बार भइरहने सत्ता विद्रोहको विरोध गरिआएको छ भने सोमालियामा शान्ति सैनिक पठाएको छ । यो संस्थाले अफ्रिकी महादेशमा स्वतन्त्र व्यापार क्षेत्र निर्माणमा पनि कार्य गरिरहेको छ ।
युनियनले मानव अधिकार उल्लङ्घनका घटनाहरुमा आवाज नउठाएको र कुख्याती कमाएका अफ्रिकी सरकारमाथि पर्याप्त दबाब दिन नसकेको आरोप खेप्दै आएको छ ।
कागामेको सुधार प्रस्तावमा अफ्रिकाको सुरक्षा, राजनीति र आर्थिक एकीकरणमा कार्य गर्ने उल्लेख छ ।
जबसनको विचारमा सुधारका बारेमा कायरोको असन्तुष्टी निजी रहेको छ । सन् २०१३ को सत्ता विद्रोह हुँदा अफ्रिकी युनियनले इजिप्टको सदस्यता एक वर्षसम्म निलम्बन गरिएको थियो । यो सत्ता विद्रोहबाट अब्देल फताह अल–सिसी इजिप्टको राष्ट्रपति बन्नुभएको थियो ।(रासस/एएफपी)