प्रशिक्षार्थीलाई दुर्लभ चचा प्रशिक्षण
१८ कात्तिक, काठमाडौँ । बज्रयान बौद्धधर्ममा अति दुर्लभ मानिने चचा (चर्या गीत) मा पहिलो पटक १६ जना प्रशिक्षार्थीले चचाको तीन महीने प्रशिक्षण हासिल गरेका छन् ।
नेपाल परम्परागत बौद्ध धर्म सङ्घ तथा त्रिरत्न कोषको संयुक्त तत्वाबधानमा काठमाडौँको प्रसिद्ध गुणाकर महाविहार(छुस्या बहाल) मा सो प्रशिक्षण दिइएको हो । चर्या गुरु मणिरत्न बज्राचार्य तथा सङ्गीताचार्य दीपेन्द्र बज्राचार्यले संयुक्त रूपमा प्रशिक्षण दिइएकामा काठमाडौँका उत्तमबज्र बज्राचार्य, बसन्तहर्ष बज्राचार्य, मन्जुश्री रत्न बज्राचार्य, भक्तपुरका दशरथ बज्राचार्य, काठमाडौँका बाबुराजा बज्राचार्य, विजेन्द्रमुनि बज्राचार्य, विजयविलास बज्राचार्य, अशोकमुनि बज्राचार्य, सुरेश बज्राचार्य, महेशमान बज्राचार्य, भक्तपुरका चिनियाँकाजी बज्राचार्य, आनन्दमुनि बज्राचार्य, सजनरत्न बज्राचार्य, दयानन्द शाक्य, लिलेन्द्रहर्ष बज्राचार्य, युवकरत्न बज्राचार्यले चचा गीतको दिक्षा प्राप्त गर्नुभएको जानकारी दिइयो ।
बज्राचार्य गुरुबाट वाचन भएको चचा गीत श्रवणको माध्यमबाट टिप्दै कण्ठष्त गर्दै संरक्षण गर्ने परम्परा रहेकामा हाल आएर प्रशिक्षण दिइएको हो । नेपालमा बौद्धधर्मको संरक्षण तथा सम्बद्र्धन गर्ने तथा लोप हुँदै जान लागेको चचा गीतलाई जीवन्त राख्न उक्त प्रशिक्षण दिइएको नेपाल परम्परागत बौद्धधर्म सङ्घले जनाएको छ ।
अरुलाई देखाउन नहुने विद्याका रुपमा लिइने अर्थात गुह्यतन्त्रको आधारमा पुर्खाबाट शिक्षितदिक्षित हुने परम्परामा यो दिक्षा विकास हुँदै आएको छ । यो गीतलाई मनोरञ्जनको साधनका रुपमा भन्दा बज्रयान बौद्धधर्मको ठूल्ठूला पूजामा गाइन्छ । गुरुबाट श्रवण गर्ने तथा ग्रहण गरेको विद्या कण्ठष्त पार्ने दिक्षा हो । यो प्रशिक्षण ग्रहण गर्ने अवसर पाएका प्रशिक्षार्थीले आफूहरु पहिलो पटक बज्रयान बौद्धधर्मको महासागरभित्र प्रवेश गर्ने अवसर पाएको र आगामी दिनमा महासागरभित्र पुगेर मोती टिपेर ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सफल प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति नरेशमान बज्राचार्यले शास्त्रीय सङ्गीतसँग डुबेर गाउनुपर्ने चचा गीतको दुरुपयोग नगर्न प्रशिक्षार्थीलाई आग्रह गर्नुभयो । उहाँले चचाको प्रदर्शनबाट दिव्यता आउनुपर्नेमा जोड दिँदै शास्त्रीयताको आधारमा राग, ताल समिश्रण हुनुपर्ने उल्लेख गर्नुभयो ।