विपद् सुरक्षा सचेतना सप्ताहव्यापी कार्यक्रम शुरु
१६ कात्तिक, काठमाडौँ । तिहार पर्वमा प्रयोग हुने आगो तथा बिजुलीजन्य क्रियाकलापबाट हुनसक्ने आगलागीमा सावधानी अपनाउन, काठमाडौँमा अग्नि विपद् सुरक्षा सचेतना सप्ताहव्यापी कार्यक्रम शुरु भएको छ । कामपाको व्यवस्थापन समितिको अगुवाइमा काठमाडौँ, ललितपुर र भक्तपुरका बारुणयन्त्र कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका विपद् व्यवस्थापन महाशाखा, नेपाल स्काउट, रेडक्रस, वडास्तरीय विपद् व्यवस्थापन समितिसहित स्थानीयको सहभागितामा आजदेखि कार्यक्रम शुरु भएको हो ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आगो मानव सर्जित विपत्ति भएकाले हरेक व्यक्तिले आगोलाई पूर्ण नियन्त्रणमा राख्न सक्ने भन्दै सचेत भएर प्रयोग गर्न आग्रह गर्नुभयो । उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पर्वमा रमाइलो गर्दा आगोको प्रयोगमा लापर्वाही गर्न नहुने बताउँदै सानो गल्तीले जीवनभर बिर्सन नसकिने क्षति पुग्न सक्ने हुँदा सावधानी अपनाएर आगोको प्रयोग गर्नुपर्ने बताउनुभयो ।
सचेतना कार्यक्रमको शुरुआतमा निकालिएको ¥याली जुद्ध बारुणयन्त्र कार्यालयबाट निस्किएर धर्मपथ, सिद्धिचरण चोक, लगन, ब्रह्मटोल, ह्युमत, जैसीदेवल, भीमसेनस्थान हुँदै वसन्तपुरको मरु गणेश पुगेको थियो । त्यसपछि प्याफलबाट यट्खा, टेङ्गाल, बाङ्गेमुढा, इन्द्रचोक हुँदै जुद्ध बारुणयन्त्र कार्यालय आइपुगेको थियो ।
कार्यक्रममा आगोजन्य व्यवहार, सम्भावित आगलागीका कारण र सल्किएको आगोलाई तत्काल नियन्त्रण गर्न अपनाइने विधिका विषयमा जानकारी प्रवाह गरिनेछ । गएको वर्ष तिहारमा २८ वटा आगलागी भएका थिए । त्यसमा पनि बल्खुमा भएको आगलागी सबैभन्दा ठूलो थियो । बारुणयन्त्र कार्यालयका प्रमुख बद्रीमान नगरकोटीका अनुसार दियोबाट सल्किएको त्यो आगलागीमा १५ वटा ग्यास सिलिण्डर पड्किएका थिए भने करीब ४० घर जलेर ध्वस्त भएका थिए ।(रासस)