कृषि स्मार्ट गाउँ बनाउन छलफल
७ कात्तिक, बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नं २ स्थित सदबोदरालाई कृषि स्मार्ट गाउँ बनाउन छलफल थालिएको छ ।
आज सैनामैना नगरपालिकाको सदबोदरामा भएको स्मार्ट कृषि गाउँसम्बन्धी अन्तरक्रियामा कृषि स्मार्ट गाउँ बनाउन स्थानीयवासीले सहमति जनाए प्रक्रिया अघि बढाइने प्रदेश नं ५ का प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
भूमि, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले स्मार्ट कृषिमार्फत उत्पादन दोब्बर बढाउन सकिनेमा जोड दिँदै कस्तो ढाँचामा स्मार्ट कृषि गाउँ बनाउने भन्ने विषय स्थानीयवासीको भएको बताउनुभयो ।
मन्त्री पौडेलले भन्नुभयो, “स्मार्ट कृषि गाउँबाट आन्तरिक तथा बाह्य पर्यटक पनि भित्र्याएर लाभ लिन सकिन्छ ।”
प्रदेशसभा सदस्य श्रेष्ठले गरीबी न्यूनीकरणका लागि स्मार्ट कृषि गाउँ परिणाममुखी हुने विश्वास व्यक्त गर्दै लगानीको प्रतिफल दोब्बर बढाउन सकिन्छ भन्नुभयो ।
अर्का प्रदेशसभा सदस्य तुल्सी चौधरीले आफूसँग भएको सम्पत्तिलाई चलायमान गराएर पूँजीको विकास हुने अवधारणा सरकारले ल्याउन खोजेको बताउनुभयो ।
सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले स्मार्ट कृषि गाउँबाट भरपुर लाभ लिन कृषकलाई आग्रह गर्नुभयो । ‘एक निर्वाचन एक स्मार्ट कृषि गाउँ’ भन्ने अवधारणानुसार यो कार्यक्रम ल्याउन लागिएको हो । सो स्मार्ट कृषि गाउँका लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ ।(रासस)