त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइनको तार विस्तार शुरु
७ कात्तिक, बेत्रावती । निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल सर्किट’ प्रसारण लाइनका लागि विद्युतीय तार तान्न थालिएको छ । नुवाकोटको सूर्यमतीदेखि थानसिंहसम्मका खम्बामा मङ्गलबारदेखि तार तान्न थालिएको ‘माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाका प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिनुभयो ।उहाँका अनुसार पहिलो चरणमा सूर्यमतीबाट चतुराले हुँदै थानसिंहसम्मको खम्बा नं २४.१ देखि २९ नं सम्म ठेकेदार कम्पनी चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन (सिडब्लुई)ले तार तान्न थालेको छ ।
नुवाकोट र रसुवामा उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न विसं २०६८ फागुन १४ गतेदेखि निर्माण शुरु भएको २२० केभी प्रसारण लाइनमा खम्बा गाड्ने काम अन्तिम चरणमा पुगेपछि विद्युतीय तार जडान गर्न लागिएको हो । उक्त प्रसारण लाइनमा पर्ने १४० खम्बामध्ये अधिकांश खम्बा निर्माण भइसकेका र बाँकी खम्बा पनि तयार भइ ठड्याउन मात्र बाँकी रहेकोे उक्त आयोजनाका उपप्रबन्धक सत्यराम ज्याख्वाले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रसारण लाइनमा कठिन मानिएका खम्बा निर्माण भइसकेकाले प्रसारण लाइन विस्तार गर्न थालिएको हो । “प्रसारण लाइन निर्माणमा स्थानीयवासीको अबरोध, मुआब्जा निर्धारणमा ढिलाइ र सामुदायिक वनक्षेत्र उपभोगमा आइपरेका कठिनाइ समाधान भएसँगै तोकिएकै मितिमा प्रसारण लाइन पूरा हुने निश्चित भएको छ ।” उहाँले भन्नुभयो, “त्रिशूली थ्री ए जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि विद्युत् प्रसारण लाइन निर्माणको काम तोकिएको समयमा पूरा गर्नुपर्ने बाध्यता भएकाले ठेकेदारलाई काम छिटो गर्न दबाब दिइरहेका छौँ ।”
प्रसारण लाइन निर्माणको काम आगामी पुस १५ गतेभित्र सक्नुपर्ने जिम्मेवारी ठेकेदार कम्पनी सिडब्लुइलाई दिइसकिएको छ । उक्त मितिमा काम सम्पन्न गर्न निर्माणको हालको प्रगति सन्तोषजनक छ । उक्त आयोजनाबाट सन् २०१९ फेब्रुअरी ९ तारिख (विसं २०७५ माघ २६) मा पहिलो युनिटबाट ३० मेगावाट विद्युत् उत्पादनको योजना बनाइएकाले सो अवधि अगावै त्रिशूली–काठमाडौँ प्रसारण लाइन पूरा गर्नुपर्ने भएको छ । नुवाकोट र रसुवामा उत्पादित करीब ९०० मेगावाट विद्युत् त्रिशूली–काठमाडौँ प्रसारणलाइनको एकै केन्द्रमार्फत केन्द्रीय प्रसारण लाइनसम्म जोड्न ४५ किमी प्रसारणलाइन निर्माण कार्यलाई महत्वको रूपमा लिइएको छ ।
प्रसारण लाइन निर्माणमा यही आयोजना अन्तर्गत नेपालमा पहिलो पटक काठमाडौँको मातातिर्थदेखि केन्द्रीय प्रसारण लाइनको स्टेशनसम्म एक किमी दूरीको विद्युतीय तार विस्तारको काम भने भूमिगत गर्न लागिएको छ । प्रसारण लाइन मार्फत नुवाकोट र रसुवाका दुई जिल्लामा निर्माणाधीन रसुवागढी, साञ्जेन, तल्लो साञ्जेन, त्रिशूली–१, त्रिशूली थ्री ए, थ्री बीमध्ये त्रिशूली गङ्गा–गल्छी–त्रिशूलीसहित सानाठूला गरी तीन दर्जनभन्दा बढी आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जडान गरिने नेपाल विद्युत् प्राधिकरणको योजना छ । उक्त प्रसारणलाइन निर्माणका लागि रु दुई अर्ब ५० करोड लाग्ने प्रारम्भिक अनुमान छ । (रासस)