\
राष्ट्रिय समाचारसमाचार

६४ वर्षमा नागरिकता

२८ असोज, दमौली । हालसम्म पनि नागरिकता नबनाउनुभएका तनहुँको घिरिङ गाउँपालिका–१ निवासी ६४ वर्षीया तारामाया थापाले नागरिकता बनाउनुभएको छ ।

तनहुँ जिल्ला प्रशासन कार्यालयले घिरिङ गाउँपालिका पोखरीछापमा आयोजना गरेको घुम्ती शिवरमा थापाले नागरिकता बनाउनुभएको हो । “यो उमेरमा आएर पनि नागरिकता पाउँदा खुशी लागेको छ,” थापाले भन्नुभयो, “बल्ल नेपाली भएकोजस्तो अनुभूति भएको छ ।”

उहाँलाई उक्त कार्यालयका प्रशासकीय अधिकृत रामप्रसाद ढकालले नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । जनतालाई घरदैलोमा पुगेर सेवा प्रवाह गर्ने उद्देश्यले उक्त कार्यालयले असोज २६ र २७ गते घुम्ती शिविर सञ्चालन गरेको थियो । शिविरमा ११९ महिला र ७१ पुरुष गरी १९० जनालाई नागरिकता प्रमाणपत्र वितरण गरिएको प्रजिअ भरतकुमार शर्माले जानकारी दिनुभयो । घुम्ती शिविरमार्फत आदिवासी जनजाति प्रमाणीकरण र परामर्शलगायत मतदाता नामावली सङ्कलनका कामसमेत सम्पन्न भएको उहाँले बताउनुभयो ।

शिविरका अवसरमा जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली सङ्कलनमा ११९ महिला र ९०पुरुष गरी २०९ जनाले नाम दर्ता गराएका थिए । शिविरकै अवसरमा घिरिङ गाउँपालिका–३ को सुन्धारामा सात वटा खाद्य पसलको समेत अनुगमन गरिएको सहायक प्रजिअ तुलसीराम पौडेलले जानकारी दिनुभयो ।

जनतालाई घरदैलोमा नजीकबाट सेवा पु¥याउने उद्देश्यले उक्त कार्यालयले स्थानीय तहसँग समन्वय गरी हरेक महीना घुम्ती शिविर सञ्चालन गर्दै आइरहेको छ । यसअघि शुक्लागण्डकी नगरपालिकामा र देवघाट गाउँपालिकामा घुम्ती शिविर सम्पन्न भइसकेको छ ।(रासस)

Leave a Reply