\
अन्तर्राष्ट्रिय समाचारसमाचार

दक्षिण कोरियाली पूर्वराष्ट्रपतिद्वारा अदालतमा अपिल

२६ असोज, सोल । दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्योङ–बाकले आफूलाई सुनाइएको जेल सजायको कारवाहीविरुद्ध यहाँको अदालतसमक्ष अपिल गर्नुभएको छ ।

उहाँलाई भ्रष्टाचारको आरोपमा गत हप्त मात्र यहाँको एक अदालतले १५ वर्षको जेल सजाय सुनाएको थियो । अदालतको त्यस फैसलाविरुद्ध पूर्वराष्ट्रपति बाकले शुक्रबार अपिल गर्नुभएको उहाँका अधिवक्ताले जानकारी दिनुभएको छ ।

उहाँलाई एउटा घुसकाण्डमा दोषी ठहर गरी अदालतले १५ वर्षको जेल सजाय सुनाएको हो । उहाँ देशको उच्चपदस्थहरुमध्ये जेल पर्ने पछिल्लो व्यक्तित्वका रुपमा रहनुभएको प्राप्त समाचारहरुमा जनाइएको छ ।

अनुसन्धानका क्रममा पूर्वराष्ट्रपति बाकलाई एउटा अटोपार्ट कम्पनीमा लगानी रहेको पाइएको थियो । तर उहाँले सो कम्पनी आफ्नो नभएर भाइको रहेको दाबी गर्दै आउनुभएको थियो ।
सोही कम्पनीसँग सम्बन्धित कार्यमा उहाँले करीब २४ अर्ब वन (कोरियाली पैसा) अपचलन गरेको ठहर उक्त अदालतले गरेको थियो ।

उहाँले आफूमाथि अन्याय भएको भन्दै सो कारवाहीविरुद्ध अदालतसमक्ष अपिल गर्नुभएको उहाँका अधिवक्ताले जानकारी दिएका समाचारमा उल्लेख गरिएको छ ।(रासस/एएफपी)

Leave a Reply