\
राष्ट्रिय समाचारसमाचार

भुलभुले दूधकुण्डमा नयाँ संरचना

२६ असोज, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल भुलभुले दूधकुण्डको पर्यटन प्रवद्र्धन गर्न नयाँ संरचना थप गरिएको छ । पुरानो संरचनालाई हटाएर स्तरोन्नति गर्दै पर्यटन प्रवद्र्धनका लागि द्वार, फलामे बारसहितको सिंढी, सात धारा, पोखरी, छानासहितको बस्ने फलामे बेञ्चलगायतका संरचना निर्माण गरिएको हो ।

भुलभुले दूधकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै स्थानीयको आर्थिक समृद्धिका लागि निर्माण गरिएको मानव निर्मित संरचना बिहीबार नगरका प्रमुख दीपनारायण रिजालले उद्घाटन गर्नुभयो । विशेषगरी किराँत र हिन्दू धर्मावलम्बीको धार्मिकस्थलका रुपमा रहेको भुलभुले दूधकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने लक्ष्यका साथ नगरपालिकाको रु ४१ लाखको खर्चमा आकर्षक संरचना थप गरिएको हो ।

नयाँ संरचना निर्माणका क्रममा पुरानो शिव मन्दिरको जीर्णोद्धारसमेत गरिएको निर्माण उपभोक्ता समितिका सचिव लोकेन्द्र राईले बताउनुभयो । भुलभुले दूधकुण्डमा पुग्ने पर्यटकलाई सोभन्दा माथि रहेको रुवालुङ झरनासम्म पु¥याउनका लागि पदमार्गसमेत निर्माण गरिएको छ ।(रासस)

Leave a Reply