साना सवारीद्वारा सम्झौता उल्लङ्घन
२३ असोज, काठमाडौँ । दशैँको अग्रीम टिकट बुकिङ गर्न साना सवारीका व्यवसायीसँग यातायात व्यवस्था विभागले सोमबार गरेको सम्झौता उल्लङ्घन भएको छ ।
सम्झौताअनुसार आजदेखि कोटेश्वर, गौशाला, चाबहिल, नयाँबसपार्क, कलङ्की, सातदोबाटोलगायत स्थानबाट सञ्चालन हुने लामो दूरीमा चल्ने माइक्रो, हाइस, मिनी बसलगायत साना सवारीको टिकट बुकिङ गरिने उल्लेख थियो ।
सोमबारको सम्झौताको समाचार पढेर बिहानै चाबहिलमा माइक्रोको टिकट लिन जानुभएकी सोलुखुम्बुकी शर्मिला बास्तोलाले बुकिङ भइसकेको जवाफ पाउनुभयो । टिकट नखोली कसरी सकिन्छ भन्ने प्रश्न गर्दा काउन्टरबाट पहिल्यैदेखि वितरण गरेको जवाफ पाइएको उहाँले सुनाउनुभयो ।
सम्झौता व्यवसायीले पालना नगरेको सूचना आएकाले कारवाही प्रक्रियामा जाने तयारी भएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले राससलाई जानकारी दिनुभयो ।
विभागले अनुगमनलाई निरन्तरता दिइरहेको जनाएको छ । दशैँ अघिको टिकट बुकिङका क्रममा हालसम्म ५० सवारी कारबाहीमा परेका छन् । बढी भाडा लिने टिकटको कालाबजारी गर्नेलगायतलाई रु दुई हजारदेखि रु पाँच हजारसम्म जरिवाना गरिएको प्रवक्ता उपाध्यायले बताउनुभयो ।
अनुगमन दशैँभर जारी रहने जनाइएको छ । सार्वजनिक यातायात सुधार अभियानमा लाग्नुभएका रामबहादुर थापा व्यवसायीले आफ्ना स्वार्थका कारण अग्रीम टिकट नदिई मन लागे जति भाडा असुली गरेको बताउनुहुन्छ ।(रासस)