प्लाष्टिकजन्य फोहरको बहुआयामिक प्रयोगमा जोड
१९ असोज, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले प्लाष्टिकजन्य फोहरको बहुआयामिक प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
प्लास्ट नेपाल फाउन्डेशनद्वारा आयोजित प्लाष्टिकजन्य सामग्रीको दोस्रो अन्तर्राष्ट्रिय प्रदर्शनीको आज यहाँ उद्घाटन गर्दै उहाँले प्लाष्टिकजन्य सामग्रीको पुनःप्रयोगलाई व्यवस्थित ढङ्गबाट अघि बढाइनुपर्ने बताउनुभयो ।
मन्त्री यादवले भन्नुभयो, “फोहर प्लाष्टिकबाट सडक कालोपत्रे गर्न सकिने अवस्था छ, प्लाष्टिजकजन्य फोहरको पुनःप्रयोगका सन्दर्भमा सरकार र उद्योगीले संयुक्तरुपमा छलफल गर्नुपर्छ ।”
सम्भाव्यता अध्ययन गरेर मात्र उद्योग सञ्चालन गर्नुपर्ने सुझाव दिँदै उहाँले उद्योग दिगोरुपमा सञ्चालन गर्नुपर्छ, सञ्चालनमा आइसकेको उद्योग बन्द हुने अवस्था भयो भने सरकारसँग अनुनय÷विनय गर्ने काम उद्योगीबाट बन्द हुनुपर्छ, उद्योग चल्ने÷नचल्ने बुझेरमात्र सञ्चालन गर्नुपर्छ”, भन्नुभयो ।
मन्त्री यादवले नेपाल प्लाष्टिकजन्य सामग्रीको उत्पादनमा आत्मनिर्भर भएकोमा खुसी व्यक्त गर्दै वर्तमान सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न तयार रहेको बताउनुभयो ।
ढुक्कसँग औद्योगिक क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्दै उहाँले उद्योगले थुप्रै रोजगारीको अवसर सिर्जना र स्वदेशी वस्तु कच्चा पदार्थका रुपमा प्रयोग गर्ने भएकाले यसको बहुआयामिक महत्व रहेको बताउनुभयो ।
मुलुकको आर्थिक समृद्धिका लागि उद्योगी, व्यापारी, सरकार र जनतासँगै मिलेर अघि बढ्नुपर्ने उहाँको जोड थियो ।
अर्थमन्त्री डा युवराज खतिवडाले प्लाष्टिकजन्य सामग्रीको प्रयोगमा उपभोक्तालाई सचेत हुन आग्रह गर्दै यसको उपभोगलाई न्यूनीकरण गर्नुपर्ने बताउनुभयो ।
सरकारले तोकेको मापदण्डमा प्लाष्टिकजन्य उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उहाँले यस क्षेत्रका उद्योगलाई आवश्यक सहुलियत अन्य उद्योगसरह दिइएको बताउनुभयो ।
अर्थमन्त्री डा खतिवडाले भन्नभयो, “सरकारले कच्चा पदार्थको तुलनामा तयारी सामग्रीमा ‘एक तह माथि’ भन्सार लगाएको हुन्छ, उद्योगको संरक्षण गर्न उद्योग नीति, भन्सार नीति, आयात नीति तय गरिएको छ, स्वदेशमै उत्पादन हुनसक्ने प्लाष्टिकजन्य सामग्री उत्पादन गर्नका लागि सरकार सहयोग गर्न तयार छ ।”
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्क्ष शेखर गोल्छाले प्लाष्टिकजन्य फोहरको पुनः प्रयोग र व्यवस्थापनका लागि सरकारले स्पष्ट नीति ल्याउनुपर्ने बताउनुभयो । नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त खनालले आर्थिक समृद्धिका लागि लगानीमैत्री वातावरण निर्माण गर्न सरकारलाई सुझाव दिनुभयो ।
फाउन्डेशनका अध्यक्ष शरदकुमार टिवडेवालले नेपालमा प्लाष्टिकजन्य सामग्रीको उत्पादनबारे जानकारी गराउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको जानकारी दिनुभयो । प्रदर्शनीमा प्लाष्टिकजन्य सामग्रीको आयातलाई न्यूनीकरण, प्लाष्टिकको ‘रियुज’, ‘रिसाइकल’ र रिड्युस’सम्बन्धी सम्पूर्ण जानकारी दिइने उहाँले बताउनुभयो ।
यही असोज २१ गतेसम्म चल्ने उक्त प्रदर्शनीमा प्लाष्टिकजन्य उद्योगका लागि आवश्यक मेसिन र पाटपूर्जा, प्लाष्टिकका भाँडाकुँडा, प्लाष्टिकका सामग्री बनाउन आवश्यक कच्चा पदार्थ, केमिकल, तयारी प्लाष्टिकका सामग्रीलगायत राखिएको छ । नेपालका प्लाष्टिकजन्य उद्योगमा रु ५० अर्बको लगानी रहेको फाउन्डेशनले जनाएको छ ।
यी उद्योगमा करीब दुई लाखले प्रत्यक्ष रोजगारी पाएका छन् । प्लाष्टिक उद्योगले वार्षिक करीब रु सात अर्ब राजश्व सरकारलाई बुझाउँदै आएका छन् ।(रासस)