विकास निर्माण काममा आयोग बाधक होइन साधक बन्ने
१२ असोज, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले कुनै पनि विकास निर्माणको काममा आयोग बाधक नभई साधक बन्न चाहेको बताउनुभएको छ ।
आज यहाँ आयोजित ‘सुशासन प्रवद्र्धन र विकास निर्माण कार्यमा सहजीकरण विषयक’ अन्तक्र्रियामा उहाँले भन्नुभयो, “विकास निर्माणका कार्यलाई सहजीकरण गर्न आयोग सधँै प्रतिवद्ध छ ।”
प्रमुख आयुक्त घिमिरेले मुलुकमा सुशासन प्रवद्र्धन गर्ने कार्यमा आयोग लागिपरेको चर्चागर्दै आयोगमा परेका उजुरीका बारेमा सामान्य सोधपुछ गर्दैमा आयोगलाई देखाएर सबै काम ठप्प गरेर बस्ने प्रवृत्ति ठीक नभएको बताउनुभयो ।
“आयोग कुनै पनि ठाउँमा रहरले नभई बाध्यताले प्रवेश गरेको छ, कुनै पनि काम व्यक्तिको प्रभावमा नभई प्रणालीको आधारमा होस् भन्ने हाम्रो चाहना छ” प्रमुख आयुक्त घिमिरेले भन्नुभयो ।
उहाँले आयोगले कुनै आग्रह पूर्वाग्रह नराखी स्थापित मूल्य मान्यताका आधारमा कार्य गर्ने र गर्दै आएको स्पष्ट पार्दै तोकिएको दायित्व र जिम्मेवारी पूरा नगरी उम्किन खोज्ने प्रवृत्ति सैह्य नहुने स्पष्ट पार्नुभयो ।
प्रमुख आयुक्त घिमिरेले निर्धारित समय सीमाभित्र विकास निर्माणका कार्य सम्पन्न होऊन् र तिनमा गुणस्तरीयता रहोस् भन्ने सर्वसाधारणको अपेक्षालाई पूरा गर्न सम्बद्ध सबै निकाय गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
स्थानीय तहमा सङ्क्रमणकालका नाउँमा भ्रष्टाचार र अनियमितता बढिरहेकोतर्फ सङ्केत गर्दै यसलाई आयोगले टुलुटुलु हेरेर बस्दैन बताउँदै उहाँले स्थानीय तहमा हुने विकास निर्माणका काममा पारदर्शिता हुनुपर्दछ भन्नुभयो ।
प्रमुख आयुक्त घिमिरेले ठेक्कापट्टा प्रक्रिया व्यवस्थित नहुँदा पनि अनियमितता र भ्रष्टाचारले प्रश्रय पाउने गरेको उल्लेख गर्दै सार्वजनिक खरीदको विषय नीतिगत निर्णयको विषय हुन सक्दैन र यसमा आयोग सचेत छ भन्नुभयो ।
सदाचार नीतिका आधारमा काम गर्ने परिपाटीको विकास भएमा नै देशमा सुशासन कायम रहने बताउँदै उहाँले अनियमितता र भ्रष्टाचारका विषयमा विशेष गरेर नापी, मालपोत, यातायात कार्यालय र वैदेशिक विभागका विषयमा बढी उजुरी आउने गरेकोले त्यस्ता कार्यमाथि आयोगको विशेष निगरानी रहने धारणा व्यक्त गर्नुभयो ।
प्रमुख आयुक्त घिमिरेले सरकारको निर्माण प्रणालीमाथि थुप्रै विकृति र विसङ्गति रहेकाले त्यसमा सुधारका लागि आयोगले विशेष कार्ययोजना तयार गरेको र सोको कार्यान्वयनका लागि छिट्टै सम्बन्धित निकायमा पठाइने बताउँदै सार्वजनिक निकायमा हुने सेवा प्रवाहको कार्यलाई थप व्यवस्थित बनाउन गर्नुपर्ने कार्यविधिलगायत प्रक्रियागत सुधारका लागि आवश्यक सहजीकरण गर्न आयुक्तको अध्यक्षतामा एक समिति गठन भएको र उक्त समितिले छिट्टै काम शुरु गर्ने उल्लेख गर्नुभयो ।
आयोगका हरेक कामकारवाही सरकारको समृद्ध नेपाल, सुखी नेपालीको परिलक्ष्य प्राप्तिका लागि सहयोगी हुने, कुनै पनि काम कारवाही कसैप्रति पूर्वाग्रह नराखी निष्पक्ष ढङ्गबाट उपलब्ध तथ्य र प्रभावका आधारमा गरिने हुँदा आयोगको यस कार्यमा आ–आफ्नो ठाउँबाट सहयोग मुख्य सचिवमार्फत सम्पूर्ण सचिवलगायत उच्चपदस्थ अधिकारीलाई आग्रह गर्नुभयो ।
आयोगका आयुक्त डा गणेशराज जोशी, राजनारायण पाठक र डा सावित्री थापा गुरुङले सुशासन प्रवद्र्धधनका लागि विकास निर्माणका काममा ढिलासुस्ती नगरी पारदर्शी ढङ्गबाट काम गर्ने वातावरण निर्माण गर्न कर्मचारीतन्त्रबाट पनि सतर्कतापूर्वक काम हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँहरुले जनप्रतिनिधिलाई मात्र दोष लगाएर नपुग्ने बताउँदै समाजको धमिराका रुपमा रहेको भ्रष्टाचार अन्त्य आजको प्रमुख आवश्यकता हो भन्नुभयो ।
नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीलगायत विभिन्न मन्त्रालय र निकायका विशिष्ट श्रेणीका अधिकृतको सहभागिता रहेको उक्त कार्यक्रममा आयोगका सचिव महेश्वर न्यौपानेले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि आयोग प्रवद्र्धधनात्मक, निरोधात्मक र दण्डात्मक रणनीतिका आधारमा काम गरिरहेको छ भन्नुभयो ।
यस्तै आयोगले महिला तथा बालबालिका कार्यालय इलामका कार्यरत नायब सुब्बा भगवती घिमिरे र श्री कृष्ण मावि छैमलेमा कार्यरत प्रावि तहका शिक्षक श्यामप्रसाद चापागाईको शैक्षिक योग्यताको प्रमाणत्र नक्कली रहेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।(रासस)