\
राष्ट्रिय समाचारसमाचार

कृषि शिक्षाको केन्द्र बन्दै टीकापुर

९ असोज, टीकापुर । कृषि जेटिए र कृषि विज्ञानमा दुईवटा स्नातक क्याम्पस खुलेपछि टीकापुरवासी खुशी भएका छन् ।

सरकारले टीकापुरमा कृषिका विभिन्न शैक्षिक कार्यक्रम लागू गरेपछि स्थानीयवासी खुशी भएका हुन् । यसबाट यस क्षेत्रको मात्र नभई मुलुककै कृषि विकासमा सहयोग पुग्ने विश्वास स्थानीयवासीको छ ।

“२०४८ सालमा नै सुदूरपश्चिमका सबै सांसदले एकमत भएर टीकापुरमा कृषि विश्वविद्यालयको माग गरेको हो,, गतवर्ष कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको आङ्गिक क्याम्पस खुल्नु र यसवर्ष सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको कृषि डिन कार्यालय टीकापुर आउनु स्वागतयोग्य छ,” वीरेन्द्र बहुमुखी क्याम्पसका अध्यक्ष नवराज रावल भन्नुहुन्छ, “सरकारले टीकापुरमा लगानी बढाएर यह“ाका नागरिकको वर्षौ चाहाना पूरा गरेको छ ।” रानीजमरा कुलरिया सिँचाइ आयोजनामा सरकारको अर्बौ रकम लगानी भइरहेको र प्रशस्त जग्गा, स्रोत भएको टीकापुरमा कृषिका विषय पढाइ शुरु हुनु सकारात्मक भएको रावलको भनाइ छ ।

टीकापुरमा रामपुरको आङ्गिक प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा ५० जना र सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसमा एक सयजना विद्यार्थी कृषि विज्ञानको स्नातक तहमा भर्ना भएका छन् । कृषि विज्ञानमा स्नातक पढाउन थालेका टीकापुर बहुमखी क्याम्पसको ३८० बिगाह र रामपुरको आगिक क्याम्पससँग दश बिगाह जमीन छ ।

टीकापुरमै सिटिभिटिको सम्बन्धनमा टीकापुर पोलिटेक्निक इन्ष्टिच्यूटले ४० जनाका दरले चार समूहलाई तीनवर्षे आइएस्सी कृषि पढाइरहेका छन । ती पोलिटेक्निकले ४० जनालाई तीन वर्षे भेटेरिनरी पढाइरहेको पनि छ । यसैगरी ३९ जना सरकारी कर्मचारीलाई १० महिने जेटी कोर्ष पढाइरहेको छ भने कर्णाली मावि टीकापुरले यसै वर्षबाट ४० जनालाई १८ महिने बाली विज्ञानमा जेटिएमा भर्ना लिइरहेको छ । “यसबाट शिक्षाका साथै कृषिमा अनुसन्धान र कृषि प्रसारमा वृद्धि हुन्छ”, प्राकृतिक स्रोत व्यवस्थापन कलेजका प्रिन्सिपल डा ओमप्रकाश सिंह भन्नुहुन्छ, “कलेजले देशमा सबैभन्दा बढी आयात हुने चामल, तेल र गहु“को उत्पादन पा“च वर्षमा दोब्बर बनाउने सरकारी लक्ष्यलाई पूरा गर्नेछ ।”

जनशक्ति उत्पादनले कृषिमा पढेका युवाहरु संलग्न हुने र यहा“बाट उत्पादित मानवस्रोत अन्य प्रदेशलाई पनि आपूर्ति हुने टीकापुर नगरपालिकाका कृषि प्रसार अधिकृत गौरीशङ्कर गुप्ता बताउनुहुन्छ । टीकापुर पोलिटेक्निक इन्ष्टिच्यूटका प्रमुख टेकेन्द्र थापाले यहाँ खुलेका प्राविधिक शिक्षालयले यहा“का शैक्षिक, आर्थिक, सामाजिक रुपान्तरणमा ठूलो योगदान दिइने छ भन्नुभयो । यहाँबाट उत्पादित जनशक्तिले काम थालेपछि देशको उत्पादन प्रणालीमा ठूलो परिवर्तन ल्याउने उहाँको भनाइ छ ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, कृषि डीन प्राध्यापक श्यामशङ्कर झाले कृषि विज्ञानमा पढाइ शुरु हु“दा तत्काल किसानले क्लिनिक सेवा पाउने र कृषिप्रधान देशमा साच्चै कृषिमा योगदान देखिने बताउनुभयो । जति नङ्ग्रा खियाउँदा पनि खानै ठिक्क हुने खेती गरिरहेका किसानलाई प्राविधिक क्याम्पस खुलेपछि सहयोग पाउने आशा गरेको टीकापुरका किसान जीतबहादुर चौधरीले बताउनुभयो । (रासस)

Leave a Reply