\
राजनीतिराष्ट्रिय समाचारसमाचार

संविधानले एकताबद्ध भई अगाडि बढ्न प्रेरित गर्ने

३ असोज, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले सदियौँदेखि पछि परेका समुदायलाई राज्यको मूल प्रवाहीकरण गर्न वर्तमान संविधानले दिशानिर्देश गरेको बताउनुभएको छ ।

संविधान दिवस¬–२०७५ अवसरमा आज एक शुभकामना दिँदै उहाँले समाजवाद उन्मुख राष्ट्र निमार्ण गर्ने लक्ष्य लिएको संविधानले नागरिकका राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक हकअधिकार सुनिश्चित गरेको उल्लेख गर्नुभएको छ ।

वर्तमान संविधानको सफल कार्यान्वयन गरी मुलुकलाई एकताबद्ध गर्ने, राष्ट्रिय एकतालाई मजबुत पार्न, राष्ट्रिय अखण्डता कायम गरी समृद्ध राष्ट्र निर्माण गर्न आ–आफ्नो ठाउँबाट योगदान गर्न सबै नेपाली दिदीबहिनी तथा दाजुभाइलाई आह्वान गर्दै अध्यक्ष तिम्सिनाले यस अवसरले हामी सबै नेपालीलाई एकताबद्ध भई अगाडि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली जनताको प्रतिनिधि संस्था संविधानसभाबाट नेपालको संविधान जारी गरेको तीन वर्ष पूरा भएको उल्लेख गर्दै उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा दिएको वर्तमान सरकारले आम नागरिकलाई परिवर्तनको आभाष दिलाउन वर्तमान संविधानको पूर्ण कार्यान्वयन गरिनु आजको पहिलो आवश्यकता भएको बताउनुभयो ।

अध्यक्ष तिम्सिनाले सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्व प्रणालीलगायत नवीनतम् अवधारणा समाविष्ट वर्तमान संविधानले लोकतान्त्रिक शासन व्यवस्थाको गहनाका रुपमा रहेको कानूनी शासन, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता, बहुमतको शासन र अल्पमतको रचनात्मक प्रतिपक्ष जस्ता संविधानवादका मूलभूत विशेषताहरुलाई अवलम्बन गरेको बताउनुभएको छ ।(रासस)

Leave a Reply