दोषीलाई कारावाहीको माग
३१ भदौ, पोखरा । देशका विभिन्न स्थानमा भएका हत्या एवम् बलत्कारजस्ता जघन्य अपराधका दोषीलाई कारवाही गर्न र प्राकृतिक विपद्मा परेकालाई सहयोग गर्न माग गरिएको छ ।
प्रदेशसभाको आजको बैठकमा बोल्ने सदस्यले बाढी पहिरोका कारण विस्थापित भएकालाई राहत एवं निर्मला पन्त हत्या प्रकरणका दोषीको पहिचान गरी तत्काल कारवाही गर्न माग गरेका थिए ।
प्रदेशसभा सदस्य सरिता गुरुङले समाजमा महिला हिंसाका घटना बढीरहेको बताउँदै त्यस्ता घटना नियन्त्रण गर्नुपर्ने बताउनुभयो । उहाँले निर्मलाको हत्यारा पत्ता लगाई दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गर्नुभयो ।
सदस्य सावित्री रानाले पछिल्लो समयमा बाढी पहिरोका कारण ठूलो क्षति भएको बताउँदै पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य धनञ्जय दवाडीले मस्र्याङ्दी गाउँपालिकामा हालै गएको पहिरोका कारण चार जनाको मृत्यु भएको, तीन जना बेपत्ता, १० जना घाइते तथा २१ घरलाई क्षति पुगेको जानकारी दिनुभयो ।
घटनामा ४१ बाख्रा मरेको र रेन्बो ट्राउट माछा फार्ममा रहेका तीन हजार ८४० माछा बगाएको र घरमा सञ्चित अन्नका साथै खेत बगाएको, खानेपानी अवरुद्ध भएको बताउँदै उहाँले पीडितलाई भूकम्पपीडित सरह राहत दिनुपर्नेमा जोड दिनुभयो ।
सदस्य कृष्णचन्द्र नेपालीले नवलपुरको बोटे बस्तीमा घरेलु मदिरा उत्पादन तथा बिक्री गरी स्थानीयले आय आर्जन गरिरहेको बताउँदै उत्पादित मदिरा प्रहरी प्रशासनले नष्ट गर्नुभन्दा पनि त्यसको बिक्री वितरण एवम् प्रयोगलाई व्यवस्थित गर्दै मदिरा उत्पादकलाई करको दायरामा ल्याउन सकिने धारणा राख्नुभयो ।
विनोद केसीले यही भदौ २७ गते म्याग्दीको रघुगङ्गा गाउँपालिकामा रघुगङ्गा नदी थुनिँदा विद्यालय भवन बगाउँदा पठनपाठन ठप्प भएको र बेनीबजार जोखिममा पर्नुका साथै बाटो बगाउँदा तीर्थयात्रीसमेत अलपत्र परेको बताउँदै त्यसतर्फ सरकारको ध्यान आकृष्ट गर्नुभयो ।
सदस्यहरू टेकबहादुर घर्ती मगर, कृष्णबहादुर थापा, धनमाया पोखरेल, मीना गुरुङ, निरमाया रोक्का मगर, मेखलाल श्रेष्ठ, भागवतप्रकाश मल्ल, टेकबहादुर घर्तीमगरलगायतले बाढी पहिरो, शान्ति सुरक्षाजस्ता विषयमा प्रदेशसभा एवम् सरकारको ध्यानाकर्षण गराउनुभयो ।
आजको बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगरले प्रस्तुत गर्नुभएको सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विधायन समितिमा पठाउने निर्णय गरेको छ ।
विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले प्रशासकीय कार्यविधि (नियमित गर्ने) विधेयकको विधायन समितिको प्रतिवेदन र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले बर, पिपल र चौतारी संरक्षण तथा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेशसभामा प्रस्तुत गर्नुभयो ।
त्यस्तै प्रदेशसभा नियमावली संशोधन मस्यौदा समितिका संयोजक मायानाथ अधिकारीले नियमावली संशोधन समितिको प्रतिवेदन सभासमक्ष प्रस्तुत गर्नुभयो । प्रदेशसभाको अर्को बैठक असोज १ गते सोमबार दिउँसो १ बजे बस्नेछ ।(रासस)