\
राष्ट्रिय समाचारसमाचार

भूकम्पपीडित अझै टहरामा

२८ भदौ, चरीकोट । भीमेश्वर नगरपालिका–२ स्थित ऐतिहासिक दोलखा बजार भूकम्प गएको तीन वर्ष हुँदासमेत १५ प्रतिशत पनि पुनःनिर्माण हुन सकेको छैन ।

भीमेश्वर नगरपालिकाको महत्वकाङ्क्षी योजनाका कारण दोलखा बजारका भूकम्पपीडित टहरामै बस्न बाध्य भएका छन् । दोलखा बजार नेवार समुदायको बसोबास रहेको र छुट्टै पहिचान रहेको हुँदा नगरपालिकाले बजारलाई सांस्कृतिक सम्पदाका रुपमा विकास गर्न खोजेको छ । भूकम्पपीडित आफूले चाहेअनुसारको र गच्छेअनुसारको आवास बनाउन नपाएर पीडामा परेका छन् ।

करीब ५०० घरपरिवार रहेको वडामा सय घर पनि पुनःनिर्माण हुन नसकेको वडाध्यक्ष विराज श्रेष्ठले बताउनुभयो । ऐतिहासिक बजार दोलखामा व्यक्तिगत घर मात्र नभई धार्मिक सम्पदाको समेत पुनःनिर्माण हुन सकेको छैन । बहुस्वामित्वको समस्या र ऐतिहासिक ढङ्गले पुनःनिर्माण गर्न नगरपालिकाले निश्चित मापदण्ड दिन नसक्दा पुनः निर्माणमा ढिलाइ भएको वडाध्यक्ष श्रेष्ठको भनाइ छ । काठमाडाँैमा बस्ने दोलखाका व्यक्तिले महत्वाकाङ्क्षी योजना सुनाउने तर काम गर्न अग्रसर नहुुने र अरूलाई पनि गर्न नदिने प्रवृत्तिले समस्या भएको स्थानीयवासी महेन्द्र श्रेष्ठले गुनासो गर्नुभयो ।

भीमेश्वर नगरपालिकाको योजनानुसार दोलखा बजारको प्रत्येक घर एकै प्रकारको इँटा र परम्परागत कलात्मक झ्यालढोका राख्ने भनिए पनि सोअनुसार कार्ययोजना बनाएर नगरपालिकाले काम गर्न सकेको छैन । नगरपालिकाले योजनासहित काम पनि नगर्ने र आफ्नो तरिकाले घर बनाउँदा नक्शा पास नगरिदिने समस्याले भूकम्पपीडित थप पीडामा परेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

नगरपालिकाका प्रमुख भरतबहादुर केसीले नगरपालिकाका तर्फबाट दोलखालाई सांस्कृतिक सम्पदाको शहर बनाउन आवश्यक सहयोग र समन्वय भइरहेको बताउनुभयो । दोलखा बजार केही समय ढिला भए पनि पहिलाकै जस्तो निर्माण गरिने भएको कारण केही समस्या आएको उहाँले बताउनुभयो ।

ऐतिहासिक दोलखा शहरलाई सांस्कृतिक सम्पदाको शहर बनाउन वडा र नगरपालिकाबीच राम्रो समन्वय नहुँदा समस्या भएको शहरी विकास तथा भवन डिभिजन कार्यालय दोलखाका प्रमुख एकराज अधिकारीले बताउनुभयो ।(रासस)

Leave a Reply