\
राष्ट्रिय समाचारसमाचार

अटो मोबाइल्सको पाँच खर्बको कारोवार

२५ भदौ, काठमाडौँ । मुलुकमा विभिन्न प्रकारका सवारीसाधन (अटो मोबाइल्स) करीब रु पाँच खर्ब बराबरको कारोवार हुने गरेको छ ।

नेपाल अटो मोबाइल्स डिलर्स सङ्घले मङ्गलबारदेखि शुरु हुन लागेको यस वर्षको ‘नाडा अटो सो’ का बारेमा जानकारी दिन आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रत्येक वर्ष नयाँ ब्रान्डका दुईपाङ्ग्रे र चारपाङ्ग्रे, ठूला सवारीसाधनको कारोवारमा वृद्धि हुँदै गएको जनाएको छ । यही भदौ २६ देखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शनी गरिने भएको छ ।

उक्त कार्यक्रममा सङ्घका कावा अध्यक्ष कृष्णप्रसाद दुलालले यस क्षेत्रले कूल गार्हस्थ्य उत्पादनमा वार्षिक करीब २५ प्रतिशत योगदान गर्दै आएको जानकारी दिनुभयो । उहाँले हरेक वर्ष हुँदै आएको अटोमोबाइल्सको प्रदर्शनीमा विभिन्न कम्पनीका ७१ बिक्री कक्ष रहने बताउनुभयो । सङ्घका महासचिव सुनील रिजालले देशमा पूर्वाधारको विकास र उपभोक्ताको आम्दानी वृद्धि हुनसकेमा स्वदेशमा नै अटोमोबाइल्स क्षेत्रको उत्पादनका काम शुरु गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

यसपटक करीब ६० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको प्रदर्शनीमा देशका विभिन्न स्थानबाट नयाँ मोडलका गाडी आइसकेका छन् भने विदेशी गाडीको बिक्रीका लागि स्वदेशमा रहेका सबै मुख्य ब्राण्डको सहभागिता रहनेछ । अन्तर्राष्ट्रिय तहका नाम चलेका ब्राण्ड हेर्नका लागिसमेत व्यवस्था गरिएको छ । प्रदर्शनीलाई भव्य र व्यवस्थित तरिकाले सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ ।

Leave a Reply