\
राष्ट्रिय समाचारसमाचार

सफाइ अभियानमा २० टन फोहर सङ्कलन

२३ भदौ, भक्तपुर । भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २८ औँ हप्ता २० टन फोहर सङ्कलन गरिएको छ ।

पूर्वसांसद एवं नेकपाका नेता केदार सञ्जेलको प्रमुख आतिथ्यतामा भएको आजको सफाइ अभियानका २० टन फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको हो ।

अभियन्ताले सफाइ अभियानका क्रममा आज भएको सम्पदा सफाइमा मध्यपुरथिमि नगरपालिका क्षेत्रको बालकुमारी मन्दिर परिसर, वनदेवी मन्दिर र नारायणी मन्दिर क्षेत्रमा सरसफाइ गरेका थिए ।

हनुमन्ते सफाइ अभियानमा पूर्वसांसद सञ्जेलले अभियानलाई सफल बनाउन सबै क्षेत्रका व्यक्ति लाग्नुपर्ने र स्थानीयको अभियानमा सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिनुभयो । उहाँले घरबाट निस्कने फोहर सम्पदा, नदी वा अन्य खुला स्थानमा फाल्ने प्रवृत्तिको अन्त्य गर्दै फोहरको उचित व्यवस्थापन घरबाटै शुरु गरे सहज हुने बताउनुभयो ।

सूर्यविनायक नगरपालिकाको नेतृत्वमा शुरु भएको अभियानमा जिल्लाका विभिन्न सङ्घसंस्था, नगरपालिका, विद्यालय, स्थानीय बासिन्दा र अभियन्ताको सक्रिय सहभागिता रहेको नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो ।

२०७५ लाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै शुरु भएको अभियानमा आजसम्म करीब २९५ टन फोहर सङ्कलन भएको जानकारी दिँदै अभियानमा ५७० जनाको प्रत्यक्ष सहभागिता रहेको हनुमन्ते सफाइ अभियानका अभियन्ता पुष्कर गजुरेलले जानकारी दिनुभयो ।(रासस)

Leave a Reply