भेरी नदीको पुल जोखिममा
२९ साउन, जाजरकोट । नलगाड नगरपालिका–१२ ठूलाबगरमा आज बिहान पहिराले दुई घर पुरिएको छ ।
स्थानीयवासी भविन्द बस्नेत र ककबहादुर बस्नेतको घर पूर्णरुपमा पुरिएको वडाध्यक्ष लालबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य पाँच स्थानीयवासीका घर पनि जोखिममा परेका छन् । घरदेखि माथि भीरको पहिराले स्थानीयवासीका घर पुर्नाका साथै जोखिममा पारेको नेकपा जिल्ला समिति सदस्य नवराज सिंहले जानकारी दिनुभयो ।
पहिराले रुकुमको गोतामकोट र जाजरकोट ठूलाबगर जोड्ने भेरी नदीको पुलसमेत जोखिममा परेको छ । जाजरकोट–डोल्पा सडक खण्डमा पर्ने सो पुल जोखिममा परेसँगै समस्या उत्पन्न भएको नलगाड नगरपालिका नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो । जाजरकोट र रुकुमबाट डोल्पा जाने मुख्य पुल नै जोखिममा परेपछि समस्या भएको छ ।(रासस)