प्रदेश राज्यमन्त्री अदालतमा हाजिर
२८ साउन, गौशाला । मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका अभियुक्त प्रदेश नं २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा आज बिहान महोत्तरी जिल्ला अदालतमा हाजिर हुनुभएको छ ।
विसं २०७२ भदौ २५ गते महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरका निरीक्षक विकको आन्दोलनकारीद्वारा महोत्तरी गाउँपालिकामा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको घटनामा शर्मासमेत अभियुक्त रहनुभएको थियो ।
विभिन्न सञ्चारमाध्यममा उहाँ सो मुद्दामा फरार रहेको समाचार आएपछि आफू आज निवेदन दिएर आफैँ अदालतमा हाजिर हुनुभएको उहाँले अदालतमै सञ्चारकर्मीसँग बताउनुभयो । जिल्ला न्यायाधीश ब्रजेशकुमार पोखरेलसमक्ष निवेदन दिएर उहाँ हाजिर हुनुभएको हो । उहाँका वकिल रमेशकुमार पाण्डेले उहाँ सशस्त्र प्रहरी निरीक्षक हत्यामा संलग्न रहेको बारे अदालतले ७० दिने म्यादीपूर्जी (समन) समेत नपठाएकाले राज्यमन्त्री शर्मालाई घटनाबारे केही थाहा नरहेको र पछि सञ्चारमाध्यममा उहाँको नाम आरोपीको सूचीमा रहेको जानकारी भएपछि उहाँ आफैँ आज निवेदन दिएर हाजिर हुनुभएको बताउनुभयो ।
वकिल पाण्डेले जिल्ला प्रहरीले राज्यमन्त्री शर्माको म्यादी पूर्जी हराएकाले पठाउन नसकिएको अदालतलाई जानकारी दिएको बताउनुभयो । पाण्डेका अनुसार अदालतको सम्मानका लागि आफैँ हाजिर हुनुभएका राज्यमन्त्री शर्माका सम्बन्धमा थुनछेकको बहस आजै चल्नेछ ।(रासस)