अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउन डा.गोविन्द केसीको माग
१२ असार, २०७३:- काठमाडौ, शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक एव्म बरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अख्तियार प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउन माग गरेका छन् । उनले यो सहित चार बुँदे माग सार्बजनिक गर्दै माग पूरा नभए २६ असारदेखि आमरण अनशन थाल्ने चेतावनीसमेत दिएका छन्।
आइतबार शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै डा. केसीले भ्रष्टाचारलाई नियन्त्रण गर्नुपर्ने संस्थाको प्रमुख कार्की आफै भ्रष्टाचारमा लिप्त भएको, आसेपासे र भाइ भतिजाले खोलेका मेडिकल कलेजलाई प्रवर्द्धन गर्न जिम्मेवार निकायका सरकारी पदाधिकारीलाई ब्ल्याक मेलिङ गरेको आरोप लगाए, चिकित्सा शिक्षा सुधारमा अख्तियारले विभिन्न हस्तक्षेपगरी बाधा पुर्याएको भन्दै डा.केसीले पत्रकार सम्मेलन मार्फत् यस्तो माग अगाडी सारेका हुन्।
उनले आफ्ना र आफन्तको निहित व्यापारिक स्वार्थका लागि मेरिट भर्ना र निश्चित शुल्कमा भर्नालगायत समग्र सुधार प्रक्रियामा अवरोध पारेको आरोप लगाएका छन्। ‘भ्रष्ट्रहरुलाई संरक्षण दिएका र अरु जिम्मेवार पदाधिकारीहरुलाई ब्ल्याकमेलिङ गरेर राजिनामा दिन बाध्य पारे,’ डा.केसीले थपे, ‘कार्यक्षेत्र नाघेर केयुको प्रवेश परीक्षामा हस्तक्षेपसमेत गराए।’
सरकारसँग भएका पुराना सहमति कार्यन्वयनसहित, विवादित मनमोहन मेडिकल कलेजलाई प्रष्तिष्ठानको रुप दिनेगरी संसदमा रहेको विधेयक तत्काल फिर्ता लिनसमेत डा.केसीले माग गरेका छन्।
डा. केसीले चिकित्सा शिक्षा ऐनको मस्यौदामा पाँच वटा सुधार गरेर संसदको यही अधिवेशनबाट पारित गर्न, सबै सरकारी मेडिकल कलेजमा आर्थिक सरकारले बेहोर्दै तीनमा सबै सिट निःशुल्क गर्नुपर्ने, सबै प्रदेशमा कम्तिमा एउटा मेडिकल कलेज बनाउनु पर्ने मागसमेत अगाडी सारेका छन्।
दुई हप्ता भित्र यी मागहरु पूरा नभए आमरण अनसन सुरु गर्ने डा. केसीले बताए ।