\
राजनीतिराष्ट्रिय समाचारसमाचार

केसीसँग वार्ता गर्नका लागि सरकारले पर्याप्त पहल गरेन : उपाध्यक्ष पौडेल

२७ असार, काठमाडौं । नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा. ढुण्डीराज पौडेलले गोविन्द केसीसँग वार्ता गर्नका लागि सरकारले पर्याप्त पहल नगरेको आरोप लगाएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पौडेलले केसीसँग वार्ता गरेर चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि श्वेत पत्र जारी गर्न सरकारलाई सुझाब दिए । चिकित्सा शिक्षा क्षेत्रको सुधार र केसीको जीवन रक्षाका लागि तत्काल वार्ता गर्नुपर्नेमा उनले जोड दिए ।

चिकित्सा शिक्षालाई सरकारले निजिकरण गर्न खोजेका कारण गोविन्द केसी अनशन बस्न बाध्य भएको पौडेलको आरोप थियो ।

नेपालको चिकित्सा सेवा काठमाडौं केन्द्रित भएको भन्दै उनले जुम्लामा खोलिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आधारभूत सेवा समेत हुन नसकेको बताए ।

“जुम्लामा विशाल अस्पताल छ । तर ब्लड कल्चरसमेत गर्ने व्यवस्था छैन । यो सब निजीकरणका नाममा भएको कमजोरी हो ।” पौडेलले भने ।

अहिले मेडिकल कलेजको मान्यताका लागि भइरहेको चलखेल कमिसन र चन्दाका कारण भएको उनले बताए ।

“चुनावमा निजी क्षेत्रसँग चन्दा मागियो । अहिले तिनै व्यक्तिको मेडिकल कलेज जोगाउनका लागि सरकार लागिपरेको छ । अनि कसरी जनताको हितमा विधेयक बन्छ ?” पौडेलले भने ।

भ्रष्ट नेता र मन्त्रीलाई रद्दीको टोकरीमा नफालेसम्म देश विकास नहुने उनको जिकिर छ । माथेमा प्रतिवेदन किन कार्यान्वयन हुन सकेन भनेर पौडेलले प्रश्न गरे ।

नेपालमा अहिलेपनि चिकित्सा शिक्षा क्षेत्रमा निजी क्षेत्रको ८० प्रतिशत र सरकारको २० प्रतिशत मात्रै योगदान रहेको पौडेलको दाबी छ ।

पौडेलले रिपोर्टस क्लबमा भएको बहस फलदायी हुने भन्दै आजको बहसले पनि एउटा निश्कर्ष निस्कने विश्वास व्यक्त गरे । विगतमा पनि डाक्टर केसीको अनशन र मागका बारेमा क्लबका सभापति ऋषि धमलाले एजेण्डा उठान गर्दा सहमति जुट्ने गरेको पौडेलले सुनाए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेशसभा सदस्य एवम् प्रस्तावित मनमोहन मेडिकल कलेजका संस्थापक सदस्य डा. रामकुमार अधिकारीले पत्रकाहरुले डा. गोविन्द केसीलाई देवत्वकरण गरेको आरोप लगाएका छन् ।

उनले भने,‘नेपाल विश्वमै एउटा यस्तो देश हो जहाँ बिधिको कुनै मूूल्य छैन्, कानूनको पालना गरिँदैन, एकजना सरकारी कर्मचारी अनशनमा बसेर सरकारलाई दलाल भन्दै यसो गर, उसो गरे भनेर निर्देशन दिन्छ, अनि पत्रकारहरुले उसैको बारेमा समाचार लेख्न मरिमेट्छन्, गोविन्द केसीको बिरुद्धमा बोल्नेहरु माफिया हुन, यस आरोपका बारेमा कुनै आधार चाहिँदैन, यस्तो मुलुक हो हाम्रो देश ।’

उनले अघि थपे,‘मनमोहन मेडिकल कलेजमा २६ सय जनाको एकलाख, दुइलाखको लगानी छ, अबका केही दिनमा डा.केसीसँग राजधानीमा मेडिकल कलेज खोल्न नपाईने सहमति हुन्छ, मनमोहन मेडिकल कलेज लिलाममा जान्छ, फेरी पत्रकारहरुले लेख्नेछन् माफियाहरुले सञ्चालनमा ल्याउन थालेको मेडिकल कलेजको सम्बन्धन खारेज भयो, यस्तै हो ।’

उनले माथेमा आयोगको प्रतिवेदन र डा.गोविन्द केसीको हठको कारण नेपाली विद्यार्थीहरु बिदेशमा पढ्न जान बाध्य भएको गुनासो पोखे ।

उनले भने,‘माथेमा आयोग र डा.केसी हत्यारा हुन, बंगलादेशमा डा. पढेर आएका नेपाली विद्यार्थीहरु गत वर्ष फागुनमा विमान दुर्घटनामा परेर मरे, यसको दोषी उहाँहरु नै हो, नेपालमा डाक्टरी पढ्न पाउने वातावरण भएको भए उनीहरु मर्ने थिएनन्।’

Leave a Reply