कोलम्बियालाई पेनाल्टी सुट आउटमा ४-३ ले पराजित गर्दै इंग्ल्याण्ड क्वार्टरफाइनल प्रवेश
२० असार, काठमाडौं । विश्वपक फुटबलमा रुसको मस्को स्थित स्पार्टक रङ्गशालामा मंगलबार राती सम्पन्न खेलमा कोलम्बियालाई पेनाल्टी सुट आउटमा ४-३ ले पराजित गर्दै इंग्ल्याण्ड क्वार्टरफाइनल प्रवेश गरेको छ ।
खेलको निर्धारित समय एक-एकको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा समेत दुवै टोलीका तर्फबाट गोल हु्न नसकेपछि विजेताको टुङ्गो पेनाल्टी सुट आउटबाट लिइएको थियो ।
त्यसअघि खेलको ५७ औं मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टी मार्फत गोल गर्दै इंग्ल्याण्डलाई जित नजिक पुर्याए पनि इन्जुरी समयको तेश्रो मिनेटमा गोल गर्दै कोलम्बियाका येरी मिनाले आफ्नो टोलीलाई खेलमा फर्काएका थिए ।
पेनाल्टीमा कोलम्बियाका राडामेल फाल्काओ,जुवान क्युडराडो,लुइस म्युरियलले गोल गरेका थिए भने त्यसपछि पेनाल्टी प्रहार गर्न आएका मेटस युरीब र कार्लोस बाकाले गरेकाे प्रहार गोल हुन नसकेपछि इंग्ल्याण्ड विजयी भएको थियो । युरीबको प्रहार गोलपोष्टको माथील्लो बारमा लागेर फर्किएको थियो भने बाकाको प्रहारलाई इंग्ल्याण्डका गोलरक्षक पिकफोर्डले बचाएका थिए । यता इंग्ल्याण्डका जोर्डन हेन्डरसनको प्रहार गोलमा परिणत हुन सकेन भने हेरी केन, मार्कुस रासफोर्ड, कायरन ट्रिपियर र इरिक डायरको प्रहार गोलमा परिणत भएको थियो ।
इंग्ल्याण्डका कप्तान केनले कोलम्बिया विरुद्ध गरेको दुई गोल सँगै जारी प्रतियोगितामा उनको कुल गोल संख्या ७ पुगेको छ । उनी हालसम्म सर्वाधिक गोलकर्ताको सूचिमा अग्रस्थानमा रहेका छन् ।